- अमेरिकाको सर्वाधिक प्रतिष्ठित बैंक
- विश्वकै ठूला बैंकमध्ये अग्रणी
- साढे दुई लाखभन्दा बढी कर्मचारीका साथ झण्डै तीन दर्जन मुलुकमा फैलिएको बैंक
- शेयर लगानीकर्ताको सर्वाधिक भरोसाको कम्पनी
डेढ बर्ष अघिसम्म यस्ता दर्जनौँ विशेषण समेत वेल्स फार्गो बैंकलाई चिनाउन अपर्याप्त हुन्थे। डेढ सय बर्ष लामो इतिहास बोकेको बैंकप्रति अमेरिकी लगायत विभिन्न मुलुकका उपभोक्ताको मनमा गढेको विश्वास यी सबै विशेषणभन्दा माथि थियो। त्यसैले बैंक स्थापना यता कैयन् प्रतिश्पर्धी आए पनि वेल्स फार्गोलाई उछिन्न सकेका थिएनन्। जोसिएर आएकाहरु कोही लेम्यान ब्रदर्श जस्तो कुनै वित्तीय संकटको आँधीमा बिलाए भने कोही फार्गोलाई पछ्याउनमै सन्तुष्ट थिए।

सन् २०१६ को सेप्टेम्बरमा वेल्स फार्गो प्रतिको जनविश्वासमा एकाएक ग्रहण लाग्यो, जब बैंकका कर्मचारीले २१ लाखभन्दा बढी नयाँ खाता अनधिकृत रुपमा खोलेको तथ्य उजागर भयो। बैंकले रिटेल बिजनेस बढाउन कर्मचारीलाई इन्सेन्टिभको व्यवस्था गरेको थियो। त्यही लोभमा कर्मचारीले बैंकमा अरु खाता सञ्चालन गरेका ग्राहकको नाममा नयाँ खाता खोलेको रहस्योद्घाटन भएको थियो।
यसरी खोलिएको नयाँ खाताको चार्ज पुरानो खातामा रहेको रकमबाट काटियो। कतिपय नयाँ खातामा निक्षेप देखाउन पुराना खाताबाट रकम समेत ट्रान्सफर भयो। बैंकको सिष्टममा नयाँ खाता खोलेपछि त्यसको अनलाईन एकाउन्ट लग इन गर्न कर्मचारीले बनावटी पिन नम्बर र फेक इमेल आइडी समेत ‘क्रिएट’ गरे।
वेल्स फार्गोप्रतिको नागरिक विश्वास यति उच्च थियो की अधिकांशले आफ्नो रिटायरमेन्ट जीवनका लागि भनेर साँचेको रकम त्यहाँ जम्मा गरेका थिए। त्यसरी राखेको पैसा खाताबाटै हराएको एवं आफ्नो नाममा छुट्टै खाता खुलेको एकाध ग्राहकले थाहा पाएर गुनासो गरे बैंक कर्मचारी हत्तपत्त नयाँ खाता बन्द गरिदिन्थे। अनधिकृत खोलिएका खाताको शुल्कले बैंकको नाफा बढ्यो भने कर्मचारीले आफ्नो टार्गेट पूरा गरेको विवरण देखाएर कुस्त बोनस खाए।
तर, समय वित्दै जाँदा गुनासोको बाढी आउन थाल्यो र सेप्टेम्बर २०१६ मा आइपुग्दा सबै पर्दा च्यातियो। बैंकमा लाखौँको संख्यामा नक्कली खाता खोलिएको विवरण कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्युरोले सार्वजनिक गर्यो। सन् २०११ देखिनै यस्ता खाता खोलिने गरेको तथ्य ब्युरोले उद्घाटन गर्यो। साथै बैंक कर्मचारीले क्रेडिट कार्ड जारी गर्न पाँच लाख ६५ हजार आवेदन ग्राहकको अनुमति बिना नै दर्ता गराएको समेत ब्युरोले सार्वजनिक गर्यो। अनधिकृत तवरले खोलिएका करिब १४ हजार खाताबाट मात्र बिभिन्न शुल्क गरी चार लाख अमेरिकी डलरभन्दा बढी रकम बैंकले आर्जन गरेका थियो।
यो तथ्य बाहिरिएपछि कर्मचारीको महत्वाकांक्षाले यस्तो अवस्था आएको बताउँदै बैंकले पछिल्ला केही बर्षमा अनधिकृत व्यवहार गर्ने ५३ सयभन्दा बढी कामदार ‘फायर’ गरेको विवरण सार्वजनिक गर्यो। साथै बैंकले आफ्ना ग्राहकको खाताबाट काटिएको ५० लाख अमेरिकी डलर सहित १८ करोड ५० लाख अमेरिकी डलर फाइन तिर्न आफु तयार रहेको स्टेटमेन्ट जारी गर्यो।
बैंक नेतृत्व घटना त्यहीँ सामसुम गर्न चाहन्थ्यो। तर, परिस्थिती सोचे जस्तो भएन। अमेरिकी संसदको माथिल्लो सदन सिनेटको बैंकिङ समितिमा यो बिषयले प्रवेश पायो। म्यासाच्युसेट्सकी सिनेटर एवं समिति सदस्य एलिजावेथ वारेन यति ठूलो स्क्यान्डलमा तल्लो तहका कर्मचारीलाई कारबाही गरियो भनेका भरले बैंकको बोर्ड र व्यवस्थापनलाई उन्मुक्ति दिन नहुने पक्षमा दह्रोसँग उभिएकी थिइन्। सन् २०१० देखि २०११ सम्म कन्जुमर फाइनान्सियल प्रोटेक्सन ब्युरोको बिशेष सल्लाहकारको रुपमा काम गरेको कारण पनि उनी यो मुद्दाको अन्तर्य राम्रोसँग बुझ्थिन्।
समितिले कैयन् चरणमा छलफल र अनुसन्धान गर्यो। वेल्स फार्गो नेतृत्वदेखि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अधिकारीसम्म समितिको सुनुवाइमा बोलाइए। बैंकले अधिक नाफाको लालचमा कर्मचारीलाई अनेक टार्गेट दिने गरेको कारण नै यस्तो अवस्था सिर्जना भएको भन्दै सांसदहरु नेतृत्वलाई उन्मुक्ति दिनु नहुने पक्षमा उभिए। गत अक्टोबरको एउटा सुनुवाइमा सिनेटर वारेनले बैंकका प्रमुख कार्यकारी अधिकृत टिमोथी जे स्लोअनलाई ‘साना कर्मचारी होइन तिमी चाहिँ फायर हुनुपथ्र्यो’ भनेर खुला चेतावनी नै दिइन्। सन् १९८७ मा वेल्स फार्गो जोइन गरेकास्लोअनयो स्क्यान्डलताका होलसेल बिजनेस प्रमुख थिए। घटना सार्वजनिक भएपछि तात्कालिन अध्यक्ष एवं प्रमुख कार्यकारी जोन स्टम्प्फले राजीनामा दिएपछि स्लोअन सिइओ नियुक्त भएका थिए। घटनाबारे स्टम्प्फ र स्लोअनको भनाइ समान थियो– कर्मचारीले वोनसको लोभमा यसो गरेछन्। जबकी तल्लो तहका कर्मचारीभन्दा बैंकको नाफाबाट व्यवस्थापनमा बस्नेहरुले कैयौँ गुणा बढी बोनस खाएका थिए। सांसदहरु सामु पनि त्यहि भनाइ दोहोर्याएपछि वारेन स्लोअनसँग आगो भएकी थिइन्– ती कर्मचारीलाई अनावश्यक रुपमा लोभ्याउने र टार्गेट दिने चाहिँ को हो?
व्यवसायी हेनरी वेल्स र एक्सप्रेसमेन (१९ औँ शताब्धिमा सुन लगायत बहुमूल्य धातु ओसार पसार गर्ने व्यक्ति) विलियम फार्गोले सन् १८५२ मा वेल्स फार्गो एण्ड कम्पनी नाम दिएर उक्त बैंक स्थापना गरेका थिए। उनै दुई संस्थापकको नामबाट बैंकको नामाकरण गरिएको थियो। अमेरिकाको सबैभन्दा सम्पन्न राज्य क्यालिफोर्नियाको राजधानी सानफ्रान्सिस्कोमा मुख्यालय रहेको बैंकको सञ्जाल अन्य अमेरिकी राज्य हुँदै सातवटै महादेशमा फैलिसकेको छ। दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीन दुबै मुलुकमा वेल्स फार्गोका शाखा सञ्चालनमा छन्। सन् २०१५ को विवरण अनुसार बैंकमा दुई लाख ६५ हजार कर्मचारीले काम गर्छन्।
लामो इतिहास र विभिन्न चरणका आर्थिक मन्दिहरुलाई पनि सहजतापूर्वक पार लगाउँदै जाँदा वेल्स फार्गोप्रतिको जनविश्वास निरन्तर उकालो लागेको थियो। त्यही अनुसार बैंकको नाफा र शेयर मूल्यको पारो पनि बढ्दो थियो। अमेरिकाको सबैभन्दा मूल्यवान् बैंकको रुपमा वेल्स फार्गोको नाम लामो समयदेखि स्थापित भइसकेको थियो। गत बर्ष नक्कली खाताको विवरण सार्वजनिक भएको बखत बैंकको बजार पूँजीकरण दुई खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा माथि थियो।

बैंकको सबैभन्दा ठूलो शेयरहोल्डरमा लिजेण्ड शेयर खेलाडी वारेन बफेटको कम्पनी वर्कशायर हाथवे रहेको छ। हाथवेसँग वेल्स फार्गोको १० प्रतिशतभन्दा बढी शेयर छ। बफेटले सन् १९८० को दशकदेखि वेल्स फार्गोको शेयर निरन्तर किन्दै आएका थिए। त्यसबाहेक लाखौं छरिएर रहेका लगानीकर्ताले बुढेसकालको बचतका लागि बैंकको शेयर खरिद गरेका थिए। किनभने उनीहरुलाई विश्वास थियो– वेल्स फार्गोको जति सबल भविष्य अरु संस्थाको हुन सक्दैन। वफेटको वेल्स फार्गो प्रतिको भरोसाले पनि आम लगानीकर्तालाई कम्पनीप्रति तानेको थियो।
क्यालिफोर्नियाको सबैभन्दा ठूलो पत्रिका द लस एन्जलस टाइम्सले सन् २०१३ मै बैंकमा नक्कली खाता खोलिने गरेको बारे एउटा रिपोर्ट प्रकाशित गरेको थियो। तर, त्यसको तीन बर्षमा मात्रै सबै घटना उजागर भयो, जतिबेलासम्म लाखौँको संख्यामा त्यस्ता खाताहरु थपिइसकेका थिए।
२०१६ को सेप्टेम्बरमा पर्दा खुलेपछि नक्कली खाता बारेको छानविन निरन्तर अघि बढ्यो। सँगसँगै त्यस्ता थप खाता फेला पर्न थाले। गत अगष्टमा अनुसन्धान सम्पन्न हुँदा कुल ३५ लाख त्यस्ता खाता खोलिएको तथ्य उजागर भयो। २०१६ को सेप्टेम्बरमा २०११ देखि २०१५ सम्मको तथ्याङ्क अनुसन्धान भएकोमा पछिल्लो समय २००९ भन्दा अघिको जाँच भएको थियो। तीमध्ये एक लाख ९० हजार खाताबाट अनधिकृत तवरले रकम काटिएको पनि खुलासा भयो। सिनेटरहरु यो मुद्दालाई कुनै हालतमा पनि सामसुम पार्न नदिने पक्षमा थिए। यो स्क्यान्डलको अवधिमा बैंक बोर्डमा रहेका सबै सञ्चालकलाई पदच्युत गर्नुपर्ने उनीहरुको माग थियो। तर, सोझै कारबाही चलाउने अधिकार उनीहरुसँग थिएन। बैंकिङ समितिले फेडरल रिजर्भका अधिकारीलाई बैंकको उच्च नेतृत्वलाई नचोख्याउन निर्देशन दियो।
फेडकी निवर्तमान अध्यक्ष जनेट येलेनले आफ्नो कार्यकालको अन्तिम दिन (शुक्रबार) वेल्स फार्गोबारे साहसिलो निर्णय लिइन्। जस अनुसार फेडले अर्को निर्णय नगरुन्जेल अब बैंकले सम्पत्ति बृद्धि लगायत विस्तारको कुनै पनि काम गर्न नपाउने भएको छ। अर्थात बैंकलाई नाफा कमाउन प्रतिबन्ध लागेको छ। गत बर्षको अन्त्यमा बैंकको खुद सम्पत्ति २० खर्ब अमेरिकी डलर बराबर पुगेको छ। अब त्यसलाई बढाउन नपाउने भएको हो। सम्पत्ति बृद्धिकै लालचमा बैंकले लाखौँ बचतकर्तालाई अन्याय गरेको पाएपछि यस्तो सजाय गरेको फेडले जनाएको छ। अमेरिकी वित्तीय इतिहासमै कुनै बैंकको सम्पत्ति वृद्धिमा रोक लगाएको यो पहिलो घटना रहेको फेडले जनाएको छ।
साथै फेडको निर्देशन बमोजिम बैंकले आफ्नो १६ सदस्यीय सञ्चालक समितिबाट चार जनालाई हटाउनु पर्ने समेत भएको छ। तीन जनालाई आउँदो अप्रिल भित्र र बाँकी एक जनालाई सन् २०१८ भित्र हटाइसक्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। कारबाहीपछि येलेनले विज्ञप्ति जारी गरि बैंकिङको सर्वमान्य मूल्य र मान्यता भत्काउने हर्कतलाई कुनै पनि हालतमा पचाउन नसकिने उल्लेख गरेकी थिइन्।
फेडको पछिल्लो निर्णयले ठूला बैंकमा जस्ता स्क्याण्डल भए पनि तिनका सञ्चालकहरु सधैं चोखा रहन्छन् भन्ने मान्यता भत्किएको भन्दै अर्थशास्त्रीहरुले स्वागत गरेका छन्। सिनेटर वारेनले पनि नियामकले खुट्टा नकमाए वालस्ट्रिटको मनपरी रोकिने भन्दै ट्विट गरेकी छिन्। मिसिगन विश्वविद्यालयको रोस स्कुल अफ विजनेशका प्राध्यापक एरिक गोर्डोनको प्रतिकृया झनै रोचक छ। ‘यति हुँदा पनि वेल्स फार्गो भाग्यमानी सावित भएको छ, कुनै सानोतिनो बैंक हुन्थ्यो भने लाइसेन्सनै खारेज हुने बद्मासी हो यो’ उनले न्यूयोर्क टाइम्ससँग भनेका छन्।
विजमाण्डुबाट
















































































































































































