२७ भाद्र २०८३, शनिबार

 

गलेश्वर धाममा भक्तजनको चहलपहल

महाशिवरात्री पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा मंगलबार बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्री पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

उनले बिहान ५ बजेदेखि नै मन्दिरमा पूजा खुला गरिएको र लाइनमा बसेर व्यवस्थित तरिकाले पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । कालीगण्डकी नदी किनारमा विशाल चक्रशिलामा अवस्थित गलेश्वर शिवालय पश्चिमाञ्चल कै महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ ।

मन्दिर परिसरका विभिन्न ठाउँबाट सिसी टिभीमार्फत निगरानी गर्नुका साथै सुरक्षाकर्मी र स्वयम्सेवक परिचालनद्वारा शान्त वातावरणमा मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको अध्यक्ष केसीले बताए ।

म्याग्दीका विभिन्न स्थानका साथै मुस्ताङ, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लाबाट गलेश्वरको दर्शनका लागि भक्तजन आएका छन् । कालिगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै ढुङ्गा माथी अवस्थित गलेश्वरमा शिवरात्री, बालाचर्तुदशी र साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ ।

गलेश्वरको दर्शन र पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास छ । भगवन शिवले सतीदेवीको मृत शरिर बोकेर हिडेको अवस्थामा गला पतन भएकाले गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung