अहिलेको हिउँदमा माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको संख्यामा पनि उत्तिकै वृद्धि हुन थालेको छ ।
माघको अन्तिम तथा फागुनको सुरुमा भारी हिमपात भएपछि रारा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले रारामा हिउँसँग खेल्न पाउनु निकै खुसीको कुरा भएको बताएका छन् । गएको आइतबार बेलुकी राराताल पुग्न एक घण्टा नजिकै छायानाथ रारा नगरपालिका–८ मा पर्ने सल्लेरी भन्ने स्थानमा पुगेका भारतको कानपुरका एक साइकिलिङका पारखी एक पर्यटकको परिवार भने भारी हिमपातका कारण सोमबार पनि सल्लेरीमा नै बसे ।
सल्लेरीदेखि उनले ल्याएको जिप पनि नजाने र हिँडेर पनि ताल छेउ पुग्न मुस्किल तथा मौसम पनि प्रतिकूल रहेकाले दुई दिन सल्लेरीमा बिताउनु परेको सञ्जय रायले बताए ।
उनले नेपालगन्जदेखि रारा घुमेर भारतीय नाकासम्मका लागि १४ दिनको भारतीय नम्बर प्लेटको जिपको अनुमति ल्याएको भए पनि हिमपातका कारण अझै साता १० दिन ढिलो हुन सक्ने उनले बताए । नेपालगन्ज सुर्खेत हुँदै रारासम्मको हिमालयन साइकल यात्रा गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्न आए पनि हिमपातका कारण तालसम्म पुग्नै समस्या रहेको उनले बताए । यहाँ पुगेपछि ताल नहेरर जाने कुरै भएन बरु गाडीको अनुमति अवधि सकिए जरिवाना तिर्नुपर्ला रारा हेरेरै जान्छु रायले भने । उनी मंगलबार बिहान गाडी सल्लेरीमा रोकेर रारातर्फ गएका छन् ।
कानपुरका राय मात्र हैनन, काठमाडांै ज्ञानेश्वरका पर्यटन व्यवसायी सशांक थापा, काठमाडांै कालिका स्थानका असिमानसिंह बस्नेतको टोली हिमपातकै समयमा रारा घुम्न आइपुग्यो । धेरै मानिसहरूले रारामा सिजनल भ्रमण गर्नुपर्छ भन्थे तर बाह्रै महिना घुम्न लायकको रहेछ ।
टोलीका प्रमुख थापाले भने । वर्षा याममा रंगीचंगी फूल फुलेका बेला जो पनि रारा आउन सक्छ तर हिउँदे सिजनमा रारामा पुगेर हिउँसँग खेल्नुको आनन्द नै अर्को हुन्छ थापाले भने । हिउँ परेको समयमा स्केटिङ खेल खेल्न व्यवस्था र पोखरा, विराट नगर, काठमाडौंदेखि सोझो हवाई यातायात सेवा र सडकको स्तरोन्नति गर्न सके विदेशी पर्यटकहरूको प्रमुख गन्तव्य रारा बन्न सक्ने उनले बताए ।
विगतमा भन्दा अहिलेको हिउँदमा हिउँ खेल्नका लागि आउने पर्यटकको संख्या दिन बढी रहेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
फोटो क्याप्शन ः भारतको कानपुरदेखि रारा घुम्न आएका सञ्जय राय र भारतीय नम्बर प्लेटको सल्लेरी भन्ने स्थानमा हिउँमा फसेको गाडी । यहाँबाट हिँडेर डेढ घण्टामा रारा तालको किनारमा पुग्न सकिन्छ । अन्य आन्तरिक पर्यटकहरूको गाडीहरू हिउँमा रोकिएका र पर्यटकहरू हिउँमा रमाउँदै गरेको ।
-दानबहादुर बूढा कारोवारबाट
















































































































































































