पश्चिम बागलुङको बुर्तिबाङमा संचालित प्रथम ढोरपाटन महोत्सवको चौँथो दिन पनि भव्यताका साथ मनाईएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको हेलि मार्फत ढोरपाटन तथा बुर्तिबाङ क्षेत्रको अवलोकन गर्ने कार्यक्रममा सोमबार र मंगलबार ५६ जनाले बुर्तिबाङ क्षेत्र तथा ढोरपाटन क्षेत्रको अवलोकन गरेका छन् ।
हेलीबाट बुर्तिबाङ क्षेत्र अवलोकन गरेको ५ हजार र रमणिय क्षेत्र ढोरपाटनको अवलोकन गरेको १० हजार शुल्क आयोजकले तोकेपछि हेलि मार्फत ढोरपाटन तथा बुर्तिबाङको अवलोकन गर्नेहरुको भिड लागेको संयोजक रितुवर्ण पौडेलले जानकारी दिए ।
हेलिमा ढोरपाटन नगरपालिका–१ का ९४ वर्षिय मनबहादुर लोप्चनले समेत ढोरपाटनको अवलोकन गरेका थिए । अवलोकनको पहिलो दिन सोमबार २४ जना र मंगलबार ३२ जनाले विभिन्न क्षेत्रको अवलोकन गरेको बताईएको छ ।
बुर्तिबाङ क्षेत्रको भन्दा ढोरपाटन क्षेत्रको अवलोकन धेरैले गरेका थिए । ढोरपाटनको अवलोकन ३२ जनाले गरेका थिए भने बुर्तिबाङको अवलोकन जम्मा २४ जनाले मात्रै गरेको संयोजक पौडेलले जानकारी दिए ।
त्यसैगरी महोत्सवको आज ४ औँ दिन पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । भलिबल खेलमा ८ समूहले सहभागिता जनाएको छ । मंगलबार भएको पहिलो चरणको खेलमा तमानखोला गाउँपालिकालाई पराजित गर्दै निसीखोला गाउँपालिका–२ जुग्जाखोला अघिल्लो चरणमा प्रवेश गरेको छ ।
कार्यक्रममा जनगायक जिवन शर्मा, लोक तथा दोहोरी गायक शिव हमाल, गायक राजेन्द्र बजगाइ, महिमा श्रेष्ठ, संचारकर्मी सुमन सुनार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दर्शकहरुलाई छमछमी नचाएका थिए ।
त्यसैगरी आजैदेखि दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । दोहोरी गीत प्रतियोगितामा ३ समूहले सहभागिता जनाएको छ । सो अवसरमा कृषि प्रदर्शनी तथा अन्य साँकृतिक कार्यक्रमहरु समेत भएको थियो । महोत्सव यही बैशाख ७ गतेसम्म सञ्चालन हुने आयाजकले जनाएको छ ।
















































































































































































