२८ बैशाख २०८१, शुक्रबार

 

म्याग्दी भ्रमण वर्षको तयारी तिब्र

पर्यटकीय सम्भावनाको पहिचान, उजागर र प्रवद्धन गर्ने उद्देश्यले मनाउन लागिएको म्याग्दी भ्रमण वर्ष २०७५ को तयारी तिब्र रुपमा अघि बढेको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा मनाउन लागिएको भ्रमण वर्षको जिल्ला र स्थानीय तह स्तरमा तयारी तिब्र बनाइएको हो । भ्रमण वर्षको तयारीका विषयमा बिहीबार बेनीमा संघको आयोजनामा सरोकारवालाहरुबीच छलफल भएको छ ।

यही महिनाभित्र बेनीमा उद्घाटन गरिने भ्रमण वर्षको अवसरमा म्याग्दीका पुराना पर्यटकीय स्थलहरुको प्रर्वद्धन, नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनका लागि विभिन्न गतिबिधि गरिने संघका अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिए ।

बेनी नगरपालिकासंगको सहकार्यमा कालीपुल बसपार्कमा पर्यटक सूचना केन्द्र स्थापना र सञ्चालन गरिने भएको छ । यसैगरी म्याग्दीका पर्यटकीय स्थलको भ्रमणका लागि आउने आन्तरीक पर्यटकहरुलाई सार्वजनीक सवारी र होटलमा दश प्रतिशत छुट सुबिधा उपलब्ध गराउन सम्बन्धित व्यवसायीका संस्थासंग समन्वय गरिएको छ ।

पर्यटन क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेशण गर्ने एक जना जिल्ला स्तरका पत्रकारलाई पचास हजार रुपैया बराबरको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ । संघका अध्यक्ष कर्माचार्यको संयोजकत्वमा गठन भएको मुल समिति जिल्ला र स्थानीय तह स्तरमा विभिन्न उपसमिति गठन गरिएको छ ।

छलफलका क्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले भ्रमण वर्ष म्याग्दीका पर्यटकीय सम्भावनाको उजागर गर्न कोशेढुङ्गा सावित हुने बताए । उनले म्याग्दीको पर्यटन विकासका लागि सरकारी लगानी बढ्दै गएको बताउँदै समुदाय र निजी क्षेत्रले समेत साथ दिनुपर्ने बताए ।

मालीका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले भ्रमण वर्षलाई सदरमुकाम केन्द्रित नभएर गाउँ तहसम्म पुराउनुपर्ने बताए। मालीकाका अध्यक्ष पर्यटकीय स्थलको पहिचान र सम्भाव्यता अध्ययन सुरु गरेको बताए ।
रघुगंगाका अध्यक्ष भण्डारीले धौलागिरी सेञ्चुरी र आईसफल पदमार्गमा पूर्वाधार निर्माण सुरु गरेको बताए । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले घोडेपानी, पुनहिल, तातोपानी, रुप्से, अन्धगल्छी जस्ता पुराना पर्यटकीय स्थलको अस्तित्व टिकाउने र खोप्रा, मोहरे लगायत नयाँ गन्तब्यको विकासमा निजी क्षेत्रको साथ आवश्यक रहेको बताए ।

रघुगंगाकी उपाध्यक्ष कमला तिलीजाले दर्मीजा तातोपानी कुुण्ड, महशिकार, मगर, छन्त्याल संस्कृती लगायत धेरै पर्यटकीय सम्भावना रहेको बताउनुभयो । म्याग्दीको पर्यटकीय सम्भावनाको पहिचान, प्रर्वद्धन र आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने भ्रमण वर्षको उद्देश्य रहेको छ ।

पोखरामा आउने र मुस्ताङ भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई म्याग्दीका पर्यटकीय स्थलमा घुम्ने बनाउन विभिन्न प्रर्वद्धनात्मक गतिबिधि गरीनेछ । म्याग्दीमा धौलागिरी, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी, अन्नपूर्ण आधार शिवीर, तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, मोहोरडाँडा, टोड्के, रुईसे, संसारकै गहिरो अन्ध गल्छी लगायत थुप्रै घुम्न लायक पर्यटकीय स्थल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्