
पटक–पटक सुन तस्करी प्रकरणमा मुछिँदै आएका बिमल पोद्दार सुन तस्करी अभियोगमा पहिलो पटक गत असार ६ मा पक्राउ परे।
सुन तस्करीको ‘ठूलो माछो’को रुपमा हेरिएका उनीसँग बिशेष अनुसन्धान टोलीले भिडियो बयान लिइरहेको छ।पोद्दारले बयानमा सरकारी र प्रहरीका उच्च अधिकारीसँगको निकट सम्बन्धलाई सहजै स्वीकारेका छन्। उनीहरुलाई आर्थिक सहयोग गरेको समेत खुलाएका छन्। काठमाडौंका केही प्रतिष्ठित व्यवसायीका अदृश्य साझेदार रहेका पोद्दारले प्रहरी हाकिमका घरका पर्दा फेरिदिएकोदेखि पत्रकारलाई रक्सी खुवाएकोसम्म बयानमा उल्लेख गरेका छन्।
पोद्दारले बयानमा उल्लेख गरेका विषयमाथि टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित खबर: सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ
सुन तस्कर अर्थात् माछा
गृहमन्त्री रामबहादुर थापाले जेठ २३ मा सुन तस्करी प्रकरणमा जोडिएका आरोपीलाई माछाको संज्ञा दिए। भुरा, मझौला र ठूला माछाको रुपमा उनले सुन तस्करलाई वर्गीकरण गरेका थिए। त्यसयता सुन तस्करले माछाको संज्ञा पाउँदै आएका छन्। दुबईबाट सुन पठाउने, हवाईमार्ग भएर सुन ल्याउने, विमानस्थल सुरक्षा घेरा कटाउने तथा सुनलाई सुरक्षा दिने, सुनका लगानीकर्ता, खरिदकर्ता र सुन भारत पठाउने कार्यमा संलग्नहरु तीन वर्गको माछामा अँटाएका छन्।
दुबईबाट सुन पठाउने
प्रतिवादी प्रयास पराजुली दुबईबाट सुन पठाउने मुख्य व्यक्ति हुन्। यस्तै दुबईमा रहेका सञ्दिप खड्काले हुण्डीबाट आएको रकम जम्मा गर्ने गर्थे। दुबईमा रहेको कान्तिपुर टुर्स एण्ड ट्राभल्सका बाला भन्ने बालकृष्ण र कारागारमा रहेका चुडामणि उप्रेती गोरेका भाई रमेश उप्रेतीको नेपाली भान्सा घर दुबईमा हुण्डी रकम संकलन गर्ने र सुन खरिद गर्ने मुख्य अखडा भएको टोलीको निष्कर्ष छ। दुबईमा रहेका भारतीय नागरिक मेहुल जैन, रवी र सरिफ नाम गरेका सुन व्यापारीबाट उनीहरुले सुन खरिद गर्ने गरेका थिए।
भरिया र तल्लो तह व्यवस्थापक
जिल्ला प्रहरी कार्यालय मोरङले सनम शाक्यको शबसँगै नियन्त्रणमा लिएका टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की गोरेको मुख्य सहयोगीका रुपमा दुबई–काठमाडौं सुन ओसारपसारमा संलग्न थिए। उनीहरु पक्राउ परेको एक सातापछि लाक्पा शेर्पा र त्यसको केही दिनपछि माधव भन्ने मदनप्रसाद घिमिरे पक्राउ परेका हुन्।
अपराध महाशाखाबाट खटिएका डिएसपी प्रजित केसीले नियन्त्रणमा लिएर बुझाएका तीनै जनालाई मोरङ प्रहरीले संगठित अपराधमा म्याद लिएर अनुसन्धान सुरु गरेको थियो। सुन ओसारपसार र व्यवस्थापनमा रहेका यी पाँच भुरा माछा हुन्।
भुरामाछाकै बयानबाट पाएको सूचनाकै आधारमा टोलीले अनुसन्धान अघि बढाएको थियो। उनीहरुको सूचना पछ्याउँदा सुन ओसारपसारमा सलंग्न रेबन्त कुमार आचार्य, फाल्दुङ भन्ने लक्षुबहादुर गुरुङ र मदन सिलवाल पक्राउ परे। यो समुहले गोरे, भुजुङ र डेविटको निर्देशनमा काम गरेको थियो।
विमानस्थलबाट सुन छिराउने
दुबईबाट नेपाल आएको सुन विमानस्थलबाट बाहिर ल्याउने र गोरेका अखडासम्म पु¥याउने तथा विमानस्थल बाहिर गोरेले भनेका व्यक्तिसम्म पुर्याउने अर्को समुह सक्रिय थियो।
वर्षौंदेखि कारोबारमा प्रत्यक्ष जोडिएका र भर्खरै विमानस्थलमा जागिर सुरु गरेका यो समुहमा थिए। ४० वर्ष अघि भुजुङका सहयोगीदेखि गोरेको प्रलोभनमा सुन ओसारपसारमा सक्रिय यो समूह तस्करीका मझौला माछा हुन्। विमानस्थलमै मारिएका सानु बन र वृत्त सिंहदरबारमा शंकास्पद मृत्यु भएका प्रेमलाल चौधरी यो समूहमा पर्छन्।
अनुसन्धान टोलीले २२ चैत २०७४ मा नियन्त्रणमा लिएका लालबहादुर मगर, बीरेन्द्रमान श्रेष्ठ, सम्बिर प्रसाद तोनाङ्गे, बालकृष्ण श्रेष्ठ र दोराम खत्री मझौला माछा हुन्। यो समूहका कपिल राजपुरी, गोपाल कुमार श्रेष्ठ, पुण्यप्रसाद लामा तामाङ्ग र हेमन्त गौतम त्यही समय पक्राउ परेका थिए। टोलीले यही समुहका राजन थापा, राजु मर्हजन, अमरमान डंगोल र तुलाराम थारु समेतलाई विभिन्न मितिमा पक्राउ गरेको थियो।
सुन तस्करसँग तस्करी भएर आउने अवैध सुन विमानस्थल कटाए वापत प्रतिकेजीका हिसाबले रकम पाउने यो समुह सबैभन्दा खतरनाक देखिएको छ। विमानस्थलमा प्रयोग हुने सवारीसाधन र विशेष ज्याकेटमा सुन बोकेर विमानस्थल कटाउने यो समुहले आवश्यकताअनुसार सुन अखाडासम्मै पुर्याउने गरेको थियो।
सुनलाई सुरक्षा
अनुसन्धान टोलीले पक्राउ गरेका पूर्व डिआईजी गोविन्द निरौला नेतृत्वमा विमानस्थलमा रहेको सुरक्षा गार्ड समुहले तस्करीको सुनलाई सुरक्षा दिने गरेको थियो। अदालतमा आफै हाजिर भएका एसएसपी श्यामबहादुर खत्रीले आफ्ना चालक बिष्णुबहादुर खडका र सुरक्षा गार्ड अमर भन्ने अम्बर बहादुर मगरलाई सुन ओसारपसारमै संलग्न गराउदै आएका थिए।
सुन तस्करीको सञ्जालका मुख्य सहयोगी देखिएका एसपी विकासराज खनाल र डिएसपी सञ्जयबहादुर राउतले विमानस्थल छाडेपछि पनि तस्कर समूहसँग नियमित रकम लिँदै आएका थिए। अपराध महशाखाका सई बालकृष्ण सञ्जेलले गोरे समुहसँग काठमाडौं आएको सुनको सुरक्षा बापत रकम लिने गरेका थिए।
खरिदकर्ता तथा मुख्य व्यवस्थापक
कारागारमा रहेका गोरे, भुजुङ गुरुङ र डाक्टर डेविट भन्ने छिरिङ्ग वाङदा गुरुङले नेपाल भित्राएको अवैध सुन आरके ज्वैलर्स, जय मातादी गोल्ड प्यालेस र वैभव लक्ष्मी सुनचाँदी पसलबाट अवैध बिक्री हुने गरेको थियो।
यिनै सुनचाँदी पसलका सञ्चालकको लगानीमा सुन भित्रने गरेको अनुसन्धान टोलीको निष्कर्ष छ। पक्राउ परेका राजेन्द्रकुमार शाक्य र अनुसन्धानमै रहेका पवन अग्रवाल, महाबीर गोल्यान र फरार रहेका एमके अग्रवाल यो समुहमा पर्छन्।
एमके अग्रवालका पार्टनरमा बिमल पोद्दार थिए। यही समुहमा अकबर शाह, डब्बु भन्ने इम्तियाज र सञ्जय खेतान भन्ने प्रभात अग्रवालले सुन भारत पु¥याउनेदेखि हुण्डीको कारोबार मार्फत रकम संकलन र दुबई पठाउँदै आएको खुलेको छ।
निर्णायक माेडतर्फ अनुसन्धान
उर्लाबारीका युवा सनम शाक्यको हत्याको रहस्य सुल्झाउन अधिकार क्षेत्र नाघेर मोरङ गएको अपराध महाशाखाको सन्देहपूर्ण अनुसन्धान यतिबेला चार दशक लामो सुन तस्करीको सञ्जाल भत्काउने मियो बनेको छ।
प्रहरी प्रधान कार्यालयले चैत ४ मा डिआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा गठन भएको समितिको १६ दिन लामो अनुसन्धान र महानगरीय अपराध महाशाखाको १५ दिन लामो अनुसन्धानमा खुलेका तथ्यलाई पछ्याउदै चैत २० पछीको सरकारी समितिको अनुसन्धान आईतबार (१० असार २०७५) सम्म हवाईमार्ग भएर हुने सुन तस्करीको सञ्जाल भत्काउन केही हदसम्म सफल भएको छ। सरकारले चैत २० मा संगठित अपराध निवारण एेन २०७० टेकेर गृहका सहसचिव र्इश्वरराज पाैडेलकाे नेतृत्वमा बिशेष अनुसन्धान टाेली गठन गरेकाे थियाे।
टाेली संयोजक सहसचिव पौडेलका अनुसार विमानस्थल भन्सारको एक्सरेमा बस्ने केही अधिकारी समेत अनुसन्धानमा तानिएका छन्। यस्तै २०७३ पुस २१ मा बरामद साढे ३३ किलो सुनका प्रतिवादी रहेका भन्सार कर्मचारीको संलग्नता त्यसपछि पनि भेटिएको छ।
‘हामी एकपछि अर्को कडी पच्छयाउदै अघि बढिरहेका छौं, सोझो बाटो हिँडिरहेका छौं, हेरौं कहाँसम्म पुगिन्छ,’ संयोजक पौडेल भन्छन्, ‘सरकारले दिएको म्याण्डेटअनुसारको ८० प्रतिशत अनुसन्धान पूरा भएको छ। बाँकी २० प्रतिशत अनुसन्धानले ल्याउने परिणाम निर्णायक हुनेछ।’ नेपालखवरबाट