सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको रहस्य सुल्झाउन सक्रिय गृह सहसचिव ईश्वरराज पौडेल नेतृत्वको अनुसन्धान टोलीले काठमाडौंमा शनिबार बरामद भएको तीन किलो सुनको सोधखोज सुरु गरेको छ।
पछिल्लो ३ महिनादेखि अनुसन्धान गरिरहेको समितिले काठमाडौंमा दुबईमा निर्मित सुन बरामद भएपछि अनुसन्धान थालेको हो। प्रहरीले शनिबार नागढुङ्गा नाकाबाट भारत तस्करी हुँदै गरेको तीन केजी ‘इमिरेट्स गोल्ड’सहित पाँच जनालाई पक्राउ गरेको थियो।
सरकारले २०७५ चैत २० मा गृह सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा गठन गरेको अनुसन्धान टोलीलाई हवाईमार्ग भएर हुने सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धानको जिम्मेवारी दिएको छ। प्रहरीले बरामद गरेको सुन हवाईमार्गबाट तस्करी भएर भित्रिएको आशंकापछि टोलीले काठमाडौं प्रहरीसँग आवश्यक विवरण मगाएर अनुसन्धान थालेको हो।
संयोजक पौडेलले बरामद भएको सुन काठमाडौंबाट बाहिरिने घटना भएकोले त्यो समितिको कार्यदेश क्षेत्रभित्र परेकाले अनुसन्धान सुरु गरेको बताए। ‘हाम्रो अनुसन्धान जारी रहँदा कतै हवाईमार्गबाट सुन तस्करी भइरहेको त होइन, आशंका जन्मिएको छ’, उनले भने। संयोजक पौडेलले दुबईबाट सुन चीन भएर नेपाल भित्रिएको तथ्य अविश्वसनिय भएको बताए। ‘हामीले खोजिरहेको साढे ३३ किलो सुनमध्येकै हिस्सा त होइन? हामी अनुसन्धान गरिरहेका छौं’, उनले भने।
शनिबार थानकोटबाट युके ०२ ४६८४ नम्बरको अल्टो कारको फिल्टर बक्समा टेपले बेरोको अवस्थामा सुन बरामद भएको थियो। प्रहरीले तत्काल गाडीका चालक भारतको उत्तराखण्ड टनकपुरका दीपककुमार मौर्य र कन्चनपुरका मनोज बिकलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।
प्रहरीले अनुसन्धानकै क्रममा भारतीय नागरिकहरु अशोककुमार, सन्जना साह र चन्द्रमोहन जोशीलाई पक्राउ गरेको छ। पक्राउ पाँचै जनालाई थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाईएको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले सरकारी समितिले बरामद सुनका बिषयमा सोधपुछ गरिरहेको नेपालखबरलाई बताए। ‘समितिसँग कुराकानी भइरहेको छ हामी पनि अनुसन्धान गरिरहेका छौं,’ एसएसपी पोखरेलले भने।
सुन तस्करीको अनुसन्धान जारी
पौडेल संयोजक रहेको सुन तस्करी अनुसन्धान समितिले आफ्नो कार्य जारी राखेको छ। असार मसान्तसम्म थप म्याद पाएको समितिले अनुसन्धानमा खुलेका थप ब्यक्तिसँग सोधपुछ गरिरहेको छ। मंगलबार मात्र समितीले एक ब्यक्तिलाई मन्त्रालय बोलाएर सोधपुछ गरेको छ।
टोलीले पछिल्लो समय काठमाडौं र उपत्यका बाहिरका जिल्लामा अप्रेशन भइरहेको जानकारी दिए।
पोद्दारसहित ४ लाई मोरङ पठाइँदै
असार ६ गते पक्राउ गरेका कुख्यात हुण्डी कारोबारी विमल पोद्दारसहित चार जनालाई ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको प्रतिवादी बनाइने भएको छ। पोद्दार, अकबर शाह भनिने शैयद अकबर शाह, सञ्जय खेतान भनिने प्रभात अग्रवाल र राजु दारुकालाई मोरङ पठाउने तयारी भएको हो।
दुई साता अघि काठमाडौंबाट पक्राउ परेका चारैजना सुन तस्करी र हुण्डी कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको थियो। पोद्दारले समितिमा दिएको बयानमा आफू एमके भनिने मोहनकुमार अग्रवालसँग मिलेर सुन तस्करीमा संलग्न रहेको स्वीकारेका छन्। अकबर, प्रभात र राजुले सुन तस्करी र हुण्डीको आरोप स्वीकारेका छन्। नेपालखबरबाट













































































































































































































