छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्यसँगै नेपाल र भुटानसमेतको प्रवेशद्वार रहेको सिलगुढ़ी पछिल्ला केही वर्षयता सुन तस्करहरूका लागि प्रमुख मार्ग बनेको छ।
गुप्तचर विभागले सिलगुढ़ी क्षेत्रबाट धेरैपटक तस्करी गरिएको सुनसहित तस्करलाई पक्राउ गरिसकेको छ। यसै क्रममा शुक्रवार मध्यराति पनि २० किलो सुनसहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोहित अग्रवाल र नीरज अग्रवाल रहेका छन्। प्रहरीका अनुसार शहरको पीसी मित्तल बस स्ट्यान्ड क्षेत्रमा गोप्य सूचनाको आधारमा छापा मारी उक्त परिमाणको सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो।
जफत गरिएको सुनको बजार मूल्य भारु ६ करोड़ १३ लाख ६० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ। सिलगढ़ी अदालतले उनीहरु दुबैलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको छ।
प्रहरीका अनुसार यो सुन जयगाउँबाट सिलगुढ़ीका लागि तस्करी गरिएको थियो। सुन सम्भवतः भुटानबाट ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ। केन्द्रीय राजस्व गुप्तचर विभागका अधिकारीहरूले पक्राउ परेकाहरूमाथि थप अनुसन्लाधान भर्ईरहेकाे जनाएका छन्।
केही वर्षयता सिलगढ़ीको बाटो भएर सुन तस्करीको कार्य बढ़ेपछि केन्द्रीय राजस्व गुप्तचर विभागले सचेतता अपनाएको छ। यो वर्षको शुरुदेखि हालसम्म ५० किलोभन्दा अधिक सुनसहित धेरै तस्करलाई केन्द्रीय राजस्व गुप्तचर विभागले पक्राउ गरिसकेको छ।













































































































































































































