प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्।
सरकारले मितव्ययी नीति लिएको स्मरण गराउँदै हरेक कुरा कम खर्चमा सम्पन्न गर्नपनि प्रम ओलीले भनेका छन्।
आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि समीक्षा बैठकलाई शनिबार सिँहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन्।
काममा परिणाम नआउने, काम नगर्ने, तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्नपनि उनले निर्देशन दिए।
तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समीक्षा नभई कार्यन्वयनको अवस्थाको जानकारी लागि भएको सचिवहरुलाई बताए।
‘मन्त्रालयहरु केही न केही रचनात्मक हुन खोजेका छन्’ उनले भने, ‘कार्यान्वयनको राम्रै सुरुवात भएको छ, अब यसलाई तीब्रता दिनुपर्छ।’
सफल हुनका लागि सबै अवयवहरुलाई चुस्त बनाउनु पर्ने बताउँदै उनले हरेक कुराको परिणाम देखिनै पर्नेमा जोडपनि दिए।
शनिबारको समीक्षा बैठकमा गृह सचिव प्रेमकुमार राई,परराष्ट्र मन्त्रालय सचिव शंकरदास बैरागीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए।
यसैगरी रक्षा सचिव बिष्णु प्रसाद लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलियापनि आज प्रगति विवरण पेश गर्नेमा थिए।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धि बहादुर खड्का, कानुन न्याय तथा संसदीय मामिला सचिव राजीव गौतमले पनि आजै प्रगति विवरण पेश गरे।
अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलको विवरण पेश गर्ने पालोपनि आजै थियो।
बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डा पुष्प कँडलले पनि आफ्ना भनाई राखेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।






























































































































































































