काठमाडौं, मंसिर १५ । विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।
शुक्रवार साँझ गृह मन्त्रालयले गोरखामा कार्यरत नारायण भट्टराईलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरेको छ । पर्साका सिडीओ लोकनाथ पौडेललाई रौतहट सरुवा गरिएको छ ।
गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार आवश्यकता अनुसार केही जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल दाङ सरुवा भएका छन् । दाङका प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठ भने गोरखा सरुवा भएका प्रवक्ता सुवेदीले जानकारी दिए ।
उप–सचिव प्रमुख जिल्ला अधिकारी हुने जिल्लाहरु अर्घाखाँची र मनाङका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन भएका छन् ।
मन्त्रालयमा कार्यरत प्रेमलाल लामिछानेलाई अर्घाखाँची र रुद्रनाथ देवकोटालाई मनाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । यसअधि धनुषाको कामु प्रमुख जिल्ला अधिकारी चलाएका लामिछाने मन्त्रालयमा कार्यरत थिए ।
मन्त्रालयले शुक्रवार साँझ हेरेफेर गरेका प्रमुख जिल्ला अधिकारी मध्ये पर्साका लोकनाथ पौडल छोटो समयमा नै परिवर्न गरिएका प्रजिअ हुन् । पौडेललाई गत वैशाखामा पर्सा पठाइएको थियो ।
सह–सचिवलाई सरुवा अवधि नलाग्ने हुनाले परिणाममुखी काम नगरेको भन्दै मन्त्रालयले पौडेललाई छोटो समयमा नै परिवतर्न गरेको बताइएको छ ।






























































































































































































