४ श्रावण २०८३, सोमबार

 

अध्यक्ष राजभण्डारीलाई सुनचाँदी व्यवसायीले दिए बधाई

नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले बागलुङ उद्योग वाणिज्य संघका नवनिवार्चित अध्यक्ष युवराज राजभण्डारीलाई वधाई ज्ञापन गरेको छ । नवनिर्वाचित अध्यक्ष राजभण्डारी सुनचाँदी व्यवसायी संघ बागलुङका बरिष्ठ उपाध्यक्ष हुन् । संघका बरिष्ठ उपाध्यक्ष बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएकोमा खुशी साट्दै वधाई तथा सम्मान कार्यक्रम गरिएको सुनचाँदी व्यवसायी संघका कार्यसमियति सदस्य अनिश खातिले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष राजभण्डारीले आफ्नो नेतृत्व विकासमा सुनचाँदी व्यवसायी संघले राम्रो अवसर प्रदान गरेको वताए । उनले आफू पनि सुनचाँदी व्यवसायी भएकाले यस क्षेत्रका व्यवसायीको समस्या बुझेको भन्दै सक्दो काम गर्ने प्रतिवद्धता जनाए । ‘साथीहरुका लागि कर शिक्षा कार्यक्रम सञ्चालन गर्छु,’ उनले भने, ‘अन्य जुनसुकै समस्यामा पनि मेरो सहयोग रहन्छ ।’

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका गण्डकी प्रदेश सदस्य सुदेशचन्द्र राजभण्डारी, जिल्ला सल्लाहकार मनकाजी विश्वकर्मा र बाबुराम विश्वकर्मा, जिल्ला कार्यसमिति सदस्य अनिश खाति लगायतले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङका अध्यक्ष ओमबहादुर सुनारको अध्यक्षता, उपाध्यक्ष महेन्द्र विश्वकर्माको स्वागत र सदस्य परशुराम विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung