काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले वर्षा भइरहेको छ।
पश्चिमी वायुको प्रभावका कारण सोमबार बिहानदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशैभरिकाे माैसम बदली भएकाे छ।
काठमाडौं उपत्यकामा तीन महिनापछि पानी परेको हो। गएको असोजयता काठमाडौं उपत्यकामा पानी परेको थिएन। पानी नपर्दा काठमाडौं उपत्यकामा प्रदूषण बढेको छ।
मौसमविद् शान्ति कँडेलले पश्चिमबाट सुरु भएको वर्षा पूर्वतिर सर्दै गएको बताइन्। ‘वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ,’ कँडेलले भनिन्, ‘मकवानपुरको दामन, दोलखाको कालिञ्चोक, जुम्ला, हुम्ला लगायतका ठाउँमा हिमपात भइरहेको छ।’
जुम्ला र हुम्लामा हिमपातले जनजीवनसमेत प्रभावित भएको छ। हिमपातले हुम्लामा हवाई उडानसमेत रोकिएको छ।
पानी परे पनि काठमाडौँ उपत्यकाको तापक्रम भने धेरै घटेको छैन। सोमबार बिहान ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ। गएको शनिबारदेखि काठमाडौंको न्यूनतम तापक्रम बढिरहेको छ।













































































































































































































