पर्वत । मुख्यमन्त्री वातवरण मैंत्री कृषि गाउँका रुपमा पर्वतका दुई वडालाई विकास गरिने भएकाे छ । फलेवास नगरपालिका ११ कुर्घा र कुश्मा नगरपालिका १ पाङलाई मुख्यमन्त्री वातवरणमैंत्री कृषि गाउँका रुपमा विकास गर्न लागिएको हो ।
गण्डकी प्रदेशले हरेक निर्वाचन क्षेत्रमा एउटा कृषि गाउँ निर्माण गर्ने योजनासँगै उक्त वडालाई छनोट गरेकाे हाे । कुर्घा क्षेत्र नं २ र पाङ निर्वाचन क्षेत्र नं १ मा पर्छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कुर्घा र पाङमा नमुना कृषि गाँउको उद्घाटन गरेका छन् ।
सभामुख अधिकारीले कृषक , सरकार र कृषि वैज्ञानिकहरुको साझेदारी प्रयत्नबाट नमुना कृषि गाउँ निर्माण गर्दै अगाडी बढ्ने बताए । रैथाने जातका तरकारीलाई प्रवद्र्धन गर्दै कृषि विकासका माध्यमबाट समृद्धिको यात्रा तय गर्न मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमले सहयोग पुग्ने उनको तर्क छ ।
गण्डकी प्रदेशका ११ जिल्लाका सबै ३६ निर्वाचन क्षेत्रमा उक्त कार्यक्रम लागू गर्ने योजना रहेको वन तथा वातवरणमन्त्री विकास लम्सालले बताए । नमुना कृषि गाउँ कार्यक्रमका लागि यस वर्ष १० करोड ८० लाख छुट्याइएको मन्त्री लम्सालले बताए । प्रत्येक नमूना कृषि गाउँलाई ३० लाखका दरले रकम प्रदान गरिने गण्डकी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो वर्ष कार्यक्रम पाएको गाउँले दोश्रो वर्ष त्यसको पचास प्रतिशत पुनः रकम पाउनेछ भने पहिलो वर्ष सञ्चालित नमूना कृषि गाउँलाई अर्को वर्ष पचास प्रतिशत रकम कम गर्दा रहने रकम अन्य नमूना कृषि गाउँ बनाउनका लागि खर्च गरिने छ ।













































































































































































































