२१ बैशाख २०८१, शुक्रबार

 

तीस महिला व्यवसायिक तरकारी खेतीमा

बागलुङ । राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत बागलुङको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेमा तरकारी खेती विस्तार अभियान संचालन भएको छ । यो अभियान अन्तर्गत बिनामारेका ३० महिलाले एकैपटक व्यवसायिक तरकारी खेती थालेका छन् । परम्परागत उत्पादन मात्र गरिरहेका महिलालाई संगठित गरेर तालिम, प्रविधि र बीउ समेत दिएर उत्पादनमा लगाइएको हो ।

महिला तथा बालबालिका विभागको सहयोगमा ग्रामीण उद्यमशिलता विकास केन्द्रले उक्त स्थानका महिलाको जीवन स्तरमा सुधार ल्याउन कार्यक्रम ल्याएको अध्यक्ष डिलकुमारी थापाले बताईन् । सामान्य तालिम र प्रविधि पाउँदा महिलाहरुले मनग्य आम्दानी गरेर फाइदा लिन सकुन् भनेर यो अभियान ल्याएको उनले जानकारी दिईन् । बिनामारेका ती महिलालाई केन्द्रले ५ दिने व्यवसाय तथा कृषि फसल उत्पादन सम्बन्धी तालिम पनि दिएको छ ।

जैमिनी नगरपालिकाका कृषि प्राविधिकहरुको सहयोगमा दिइएको तालिम पछि सहभागिले उत्पादन बढाएर बजार पठाउने योजना बनाएको समेत बताए । तालिम पाएका महिलालाई एकएक वटा प्लाष्टिकका टनेल, गोलभेँडा लगायतका तरकारीको बीउ र प्रविधि सिकाईएको केन्द्रकी सचिव अनिता तिवारीले बताईन् ।

‘उत्पादन बढाउन आग्रह गर्दै सक्दो उत्पादन गरेमा बजार हामीले खोजीदिने भनेका छौं’ तिवारीले भनिन्, ‘तत्कालका लागि बागलुङ बजार, कुश्मा, कुश्मीसेरा र फलेवासका बजारमा उनीहरुका उत्पादन बिक्रीका लागि प्रारम्भिक कुरा भैसकेको छ । किसानको उत्पादन खेर नजाने वातावरण बनाएर कृषि उद्यमशिलता बढाउने लक्ष्य राखिएको उनले बताईन् ।

किसानको हौसला बढाउन भन्दै केन्द्रले तरकारी संकलन गर्ने क्रेट, पानी हाल्ने झहारी लगायतका सामाग्री, सिमी, बोडी सहितका बेमौषमी तरकारी वितरण गर्ने योजना रहेको उनले सुनाईन् । स्थानीय तहका कृषि शाखामा कर्मचारी र प्राविधिक नभएकोले सुस्ताएको उत्पादनको काम यो अभियानबाट फस्टाउँने आस गरिएको जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले बताए । पौडेलले तालिम पाएका महिलालाई प्रमाणपत्र पनि वितरण गरे ।

फाईल तस्विर

प्रतिक्रिया दिनुहोस्