१७ बैशाख २०८१, सोमबार

 

अस्ट्रेलियासँग वेस्ट इन्डिज १५ रनले पराजित

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट–२०१९ अन्तर्गत बिहीबार भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले हराएको छ । नटिङ्घमको ट्रेन्ट बिज मैदानमा भएको खेलका लागि वेस्ट इन्डिजले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय लिएको थियो । अस्ट्रेलियन टोली ४९ ओभरमा २८८ रनमा अलआउट हुन पुग्यो ।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका नाथन कुल्टर नाइल म्यान अफ द म्याच चुनिए । जारी वल्र्डकपमा अस्ट्रेलियाको यो दोस्रो म्याच हो । अस्ट्रेलियाले पहिलो म्याचमा पनि जित हासिल गरेको थियो । वेस्ट इन्डिजले पनि पहिलो म्याचमा पाकिस्तानलाई सात विकेटले हराएको थियो ।

बिहीबारको खेलमा अस्ट्रेलिया ५० रनमा ४ विकेट गुमाएर पनि खेल जित्न सफल भएको हो । यसअघि पनि उसले पाँचचोटि यस्तै अवस्थामा खेल जितेको छ । अस्ट्रेलियाका तर्फबाट मिसेल स्टार्कले सबैभन्दा बढी ५ विकेट लिए । उनले विश्वकपमा एकै खेलमा ५ विकेट लिएको यो दोस्रोपटक हो । उनीअघि ग्यारी गिलमोर, अस्थाना डिमेल, ग्लेन म्याक्ग्रा, वासबर्ट ड्रेक्स, साहिद अफ्रिदीले पनि यो उपलब्धि आफ्नो नाममा लेखाएका छन् । अस्ट्रेलियाका अन्य बलरमा पेट कमिन्सले दुई र एडम जम्पाले एक विकेट लिए ।

वेस्टइन्डिजका तर्फबाट साई होप र जेसन होल्डरले अर्धशतक बनाएका थिए । होपले सबैभन्दा बढी ६८ र होल्डरले ५१ रन जोडे । त्यस्तै निकोलस पूरन ४०, एस्ले नर्सले १९ रन बनाए । नर्सले अन्तिम चार बलमा चारै चौका हानेका थिए ।

त्यस्तै अस्ट्रेलियाका तर्फबाट कुल्टर नाइलले सबैभन्दा बढी ९२ रन बनाए । ६० बल खेलेका उनले आठ चौका र चार छक्का प्रहार गरेका थिए । नाइल विश्वकपमा आठौं नम्बरमा आएर सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बन्न पुगे । उनले जिम्बाब्वेका हिथ स्ट्रिकको कीर्तिमान तोडेका हुन् । स्ट्रिकले सन् २००३ मा न्युजिल्यान्डविरुद्ध आठौं नम्बरमा आएर अविजित ७२ रन बनाएका थिए ।

एकदिवसीयमा भने आठौं नम्बरमा आएर नाइलले बनाएको रन दोस्रो सबैभन्दा बढी हो । उनीसँगै आन्द्रे रसेल संयुक्त रूपमा दोस्रो नम्बरमा छन् भने इङल्यान्डका क्रिस वोक्स पहिलो नम्बरमा । रसेलले सन् २०११ मा भारतविरुद्ध ९२ रन जोडेका थिए भने वोक्सले सन् २०१६ मा श्रीलंकाविरुद्ध अविजित ९५ रन बनाएका थिए । अस्ट्रेलियाले चार विकेट गुमाएपछि २५० रन जोडेको थियो ।

वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान क्रिस गेल र इविन लेविस सस्तैमा पेवेलियन फर्किए । १७ बलमा २१ रन बनाएका गेल मिसेल स्टार्कको बलमा एलबीडब्ल्यू आउट भए । लेविसले एक रन मात्र बनाउन सके ।

त्यसपछि आएका साई होप र निकोलस पूरनले वेस्ट इन्डिजको पारी सम्हाले । यी दुई मिलेर तेस्रो विकेटका लागि ६८ रन जोडे । एडम जम्माको बलमा एरोन फिन्चबाट क्याच आउट हुनुअघि पूरनले ४० रन बनाए । होपले पूरनको स्थानमा आएका सिमरान हेटमायरसँग मिलेर चौथो विकेटका लागि ५० रनको साझेदारी गरे । टिमको स्कोर १४९ हँुदा हेटमायर (२१) रनआउट हुन पुगे ।

त्यसपछि आएका कप्तान जेसन होल्डरसँग होपले छैटौं विकेटका लागि होपले ४१ रनको साझेदारी गरे । पेट कमिन्सको बलमा उस्मान ख्वाजाबाट क्याचआउट भएका होपले ६८ रन बनाए । यो उनको विश्वकपमा पहिलो र समग्रमा ११औं अर्धशतक हो । उनले ७६ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि आएका आन्द्रे रसेलले ११ बलमा १५ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे । रसेलको ठाउँमा आएका कार्लोस ब्रेथवेट १६ रनमा आउट भए । आठौं स्थानमा ब्याटिङ गरेका होल्डरले ५१ रन बनाएर वेस्ट इन्डिजको पारी उकास्ने प्रयत्न गरेका थिए । उनले ५० बलमा अर्धशतक पूरा गरे । यो उनको एकदिवसीमा नवौं र विश्वकपमा तेस्रो अर्धशतक हो । होल्डरपछि आएका सेल्डन काटरेल एक रनमा आउट भए ।

अस्ट्रेलियाका तर्फबाट सुरुआती ब्याटिङमा आएका ग्लेन म्याक्सवेलले खाता नै खोल्न सकेनन् । माक्र्स स्टोइनिस १९, एलेक्स केरी ४५, स्मिथले ७३ रन जोडे । विश्वकपमा स्मिथको यो छैटौं र समग्रमा २०औं अर्धशतक हो । उनले ६ चौकाको मद्दतमा ७७ बलमा अर्धशतक पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्