१७ बैशाख २०८१, सोमबार

 

इङ्ल्यान्ड र न्युजिल्यान्ड विजयी

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबारको खेलमा इङ्ल्यान्डले बंगलादेशलाई १ सय ६ रनले हराएको छ । ३८७ रनको लक्ष्य पाएको बंगलादेश कप्तान सकिब अल हसनको शतक (१२१) का बावजुद ४८.५ ओभरमै अलआउट भयो । बंगलादेशले २ सय ८० रन मात्र जोड्न सक्यो ।

सकिबले १ सय १९ बलमा १२ चौका र एक छक्का हानेका थिए । विश्वकपमा यो उनको पहिलो र एकदिवसीय अन्तर्राष्ट्रियमा नवौं शतक हो । बंगलादेशका महमुल्लाहले २८, मोसादेक हुसेन २६ र तमिम इकवालले १९ रन मात्र बनाउन सके । इङ्ल्यान्डका जोफ्रा आर्चर र बेन स्टोक्सले ३–३ विकेट लिए । त्यस्तै मार्क उडले २ तथा लिएम प्लुनकेट र अदिल रसिदले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ६ विकेट क्षतिमा ३८६ रन बनायो । ओपनर जेसन रोयले १५३ रन जोडेका थिए । विश्वकपमा उसको यो अहिलेसम्मकै सबैभन्दा बढी रन हो । आफ्नो इनिङ्समा इङ्ल्यान्डले १४ छक्का र २८ चौका हानेको थियो । क्रिस वोक्सले १८ र लिएम प्लुनकेटले अविजित २७ रन बनाउँदै १७ बलमै ४५ रनको साझेदारी गरे । त्यस्तै रोए र जोनी बेरिस्टोले पहिले विकेटमै १२८ रनको साझेदारी गरेका थिए । बेरिस्टोले ५१ रन बनाए । जस बटलरले ४ छक्का मद्दतमा ६४ रन बटुले ।

अर्को खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई सात विकेटले हरायो । इङ्ल्यान्डमा जारी प्रतियोगितामा न्युजिल्यान्डको यो लगातार तेस्रो जित हो । यसअघि श्रीलंका र बङ्गलादेशलाई हराइसकेको छ ।

यो जितसँगै न्युजिल्यान्ड अंकतालिकामा पहिलो स्थानमा कायम छ । अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ४१.१ ओभरमा १७२ रन बनायो । न्युजिल्यान्डले ३२.१ ओभरमै तीन विकेट क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका थिए । अफगानिस्तानका सात ब्याट्सम्यानले दोहोरो अंक नै छुन सकेनन् । हसमतउल्ला साहिदीले सबैभन्दा बढी ५१ रन बनाए । हजरतउल्ला जजाईले ३२, नुर अली जादरानले ३१ र अफताब आलमले १४ रन बनाए । न्युजिल्यान्डका लागि जेम्स निसमले ५ तथा लकी फर्गुसनले ४ विकेट लिए ।

 

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्डको सुरुआत राम्रो रहेन । ओपनर मार्टिन गुप्टिल खाता नै नखोली पवेलियन फर्किए । उनलाई अफताब आलमले आउट गरे । यसपछि कोलिन मुनरो र केन विलियम्सनले ४१ रनको साझेदारी गरे । मुनरो २४ बलमा २२ रन बनाएर अफताबकै बलमा आउट भए ।

विलियम्सनले रोस टेलरसँग मिलेर तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । टेलरले ४८ रन बनाए । विलियम्सन ७९ र टोम लाथम १३ रन बनाएर अविजित रहे । विलियम्सनले आफ्नो ९९ रनको पारीमा ९ चौका प्रहार गरेका थिए । म्याचकै दौरान रसिद खान चोटका कारण बाहिरिनुपर्दा अफगानिस्तानलाई झड्का लाग्यो । उनले अर्को म्याच पनि खेल्न सक्ने सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्