१७ बैशाख २०८१, सोमबार

 

भारतसँग अस्ट्रेलिया पराजित

वानडे क्रिकेट विश्वकपको आइतबार रातिको खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ । इङ्ल्यान्डको ओभल मैदानमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाई ३५२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियन टोली ५० ओभरमा ३१६ रनमा अलआउट हुन पुग्यो ।

प्रतियोगितामा भारतको यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । विश्वकपमा अस्ट्रेलियाविरुद्ध भारतको यो चौथो जित हो ।

अस्ट्रेलियाले अन्तिमका आठ विकेट केवल ७८ रनका लागि गुमायो । भारतका तर्फबाट शिखर धवनले सबैभन्दा बढी ११७ रन बनाए । बलिङतर्फ जसप्रित बुमराह र भुवनेश्वर कुमारले ३–३ विकेट लिए ।

युजवेन्द्र चहल २ विकेट लिन सफल रहे । आस्ट्रेलियातर्फ स्टिभ स्मिथले सबैभन्दा बढी ६९ रन बनाए । बलिङतर्फ माक्र्स स्टोइनिसले लिएको २ विकेट नै टिममा सबैभन्दा बढी हो ।

अस्ट्रेलियाका अन्य ब्याट्सम्यानमा कप्तान एरोन फिन्चले ३६, डेविड वार्नर ५६, उसमान ख्वाजाले ४२ रन बनाए । एकदिवसीयमा १९औं र विश्वकपको दोस्रो अर्धशतक वार्नरले ७७औं बलमा पूरा गरेका थिए ।

त्यस्तै स्मिथले ६ चौका र एक छक्काको मद्दतमा ६० बलमा अर्धशतक ठोके । यो उनको एकदिवसीमा २१औं र विश्वकपमा छैटौं अर्धशतक हो । स्टोइनिस शून्य रनमा आउट भए ।

त्यस्तै ग्लेन म्याक्सवेल २८, कुल्टर नाइलले २, पेट कमिन्सले ८, मिसेल स्टार्कले ३, एडम जम्पाले १ रन मात्र जोड्न सके ।

भारततर्फ धवनले १३ चौकाको मद्दतमा ९५ बलमा शतक र ५३ बलमा अर्धशतक पूरा गरेका थिए । वल्र्डकपमा यो उनको तेस्रो शतक हो ।

भारतका अन्य दुई ब्याट्सम्यानले पनि अर्धशतक बनाए । कप्तान विराट कोहलीले ८२ र रोहित शर्माले ५७ रन जोडे । हार्दिक पन्ड्या दुई रनले चुके ।

 

उनले ४ चौका र ३ छक्काको मद्दतमा २७ बलमा ४८ बनाए । लोकेश राहुल ३ बलमा ११ रन बनाएर अविजित रहे । अस्ट्रेलियाका स्टोइनिसबाहेक कमिन्स, स्टार्क र नाइलले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्