बागलुङ । बागलुङ नगरपालिका–२ जिपपार्कस्थित युएस एकेडेमीमा तेक्वान्दो बेल्ट टेस्ट (ग्रेडिङ) कार्यक्रम सम्पन्न भएको छ।
नेपाल तेक्वान्दो संघ बागलुङको सहकार्यमा आयोजित कार्यक्रममा ३३ जना विद्यार्थीले सहभागिता जनाएका थिए। कार्यक्रममा विद्यार्थीहरूको तेक्वान्दो सीप, क्षमता तथा दक्षताको मूल्याङ्कन गरिएको मुख्य प्रशिक्षक परशु नारायण बोहराले जानकारी दिनुभयो।
ग्रेडिङ कार्यक्रमको संयोजन लालबहादुर बस्यालले गर्नुभएको थियो भने सदस्य लालबहादुर मोक्ताङ र प्रशिक्षक सोमियाले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा मुख्य प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख परशु नारायण बोहरा, नेपाल तेक्वान्दो संघ बागलुङकी अध्यक्ष कल्पना श्रेष्ठ, कोषाध्यक्ष कृष्ण केसी, युएस एकेडेमीका निर्देशक दलबहादुर थापा र प्रिन्सिपल अशोक केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले तेक्वान्दोले बालबालिका तथा विद्यार्थीको शारीरिक र मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र आत्मरक्षाको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।


















































































































































































