८ कार्तिक २०८३, शनिबार

 

गाउँमै पुगेर प्रभु बैंकको सेवा

प्रभु बैंकको बरेङस्थित शाखा कार्यालयले शनिबार एकै दिन सामाजिक सुरक्षाभत्ताका करिब डेढ सय लाभग्राहीको खाता खोलिदिएको छ । बरेङ गाउँपालिकाका वडा नम्बर १ र २ का पाँच वर्षमुनिका दलित बालबालिका, एकल महिला, अपांग र वृद्धवृद्धाको खाता खोलिएको हो ।

बरेङ गाउँपालिका कार्यालयसँगको साझेदारीमा प्रत्येक शनिबार गाउँगाउँ पुगेर र अन्य बार कार्यालयबाटै खाता खोलिदिने गरेको बैंकले जनाएको छ ।

असार १० भित्र दुईवटै वडाका लाभग्राहीको खाता खोलिसकिने र अहिलेसम्म ८ सया जनाको खाता खोलिएको बैंकका बरेङ शाखा प्रबन्धक रेशम आचार्यले बताए । दुईवटा वडामा गरी करिब १ हजार २ सय सेवाग्राही छन् ।

शनिबार बरेङ गाउँपालिका–१ को चित्रे र लिउवा गाउँका स्थानीयको खाता खोलिएको हो । आगामी शनिबार बरेङ–१ कै लुरुङ, कोकलदिपमा सेवा प्रवाह गरिँदै छ । ‘पायक नपरेका व्यक्तिहरूले बैंकको जुनसुकै शाखाबाट खाता सञ्चालन गर्न सक्नेछन्,’ प्रबन्धक आचार्यले भने ।

बैंक कर्मचारी गाउँमै आएर खाता खोलिदिएपछि स्थानीय हर्षित छन् । गाउँपालिकाले प्रत्येक चौमासिकमा लाभग्राहीको खातामा रकम राखिदिनेछ । ‘खातावालले आफूले पाउनुपर्ने रकम आवश्यक परे निकाल्न सक्छन्, नभए खातामै सुरक्षित रहनेछ,’ आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung