१५ कार्तिक २०८३, शनिबार

 

गुठी विधेयक फिर्ता हुने प्रक्रियामा छ : मन्त्री अर्याल

भूमिसुधार तथा सहकारीमन्त्री पद्मा अर्यालले गुठी विधेयक राष्ट्रिय सभामा दर्ता भएकाले त्यहीँबाट फिर्ता हुने प्रक्रियामा रहेको बताएकी छन् । प्रतिनिधिसभामा शुक्रबार उनले अहिलेलाई विधेयक फिर्ता गरिए पनि विधेयकप्रति सरकारको बुझाइ र योजना फिर्ता नभएको प्रस्ट्याइन् ।

‘गुठी विधेयक प्रतिनिधिसभामा नभएर राष्ट्रिय सभामा दर्ता भएकोले त्यहाँबाट प्रक्रियामा छ,’ उनले भनिन् । सांसदको जिज्ञासाको जवाफ दिने क्रममा उनले गुठी विधेयक सरकारले सुझबुझपूर्ण तरिकाले ल्याएको दाबी गरिन् ।

अहिले प्रतिकूल अवस्था सिर्जना भएर फिर्ता गरिए पनि उचित समयमा फेरि ल्याउन सकिने मन्त्रीले संकेत गरिन् । ‘सरकारका तर्फबाट संकल्प प्रस्तुत भएको हो । आजको मात्र नभएर त्यो संकल्प भोलि पनि रहनेछ,’ उनले भनिन् ।

गुठीपीडित किसानका हक स्थापित गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताइन् । धर्म, संस्कृति र परम्परा कायम गर्न सरकार क्रियाशील रहेको स्पष्ट पार्दै उनले राजधानी र मोफसलका गुठी व्यवस्थालाई एउटै भाँडोमा राखेर बुझ्न नहुने जनाइन् ।

अर्यालले मंगलबार पत्रकार सम्मेलन गरी गुठी विधेयक फिर्ता भएको घोषणा गरेकी थिइन् । विधेयक फिर्तापछि पनि राजधानीमा नेवार समुदायले ठूलो जनप्रदर्शन गरेको थियो । उनीहरूले विधेयक फिर्ता मात्र नभएर खारेज गर्न माग गरेका छन् । सरकारले राष्ट्रिय सभामा लगेको विधेयक पत्रकारसम्मेलनबाट फिर्ता गरेर मान्य नहुने उनीहरूको भनाइ छ।

त्यसै गरी विधेयकका सम्बन्धमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गुठी विधेयकको विरोध गर्नेहरूलाई सामन्ती नभनेको स्पष्ट पारेका छन् । उनले आफूले भन्दै नभनेको कुरा प्रचार गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा नगर्न प्रतिपक्षलाई आग्रह गरे । ‘गुठी विधेयकका सम्बन्धमा मेरो नाम जोडेर प्रचार गर्ने काम भयो, जुन दुःखद छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung