१४ कार्तिक २०८३, शुक्रबार

 

बागलुङ नगरमा भवन र सडक मापदण्ड माग

बागलुङ नगरपालिकामा सडक र भवन मापदण्डबारे जनप्रतिनिधिबीच विवाद चर्किएको छ । बजेटमाथि छलफलका क्रममा शुक्रबार वडा नं. २ का सदस्य अर्जुन घिमिरेले नगरभित्रका सडक र भवन निर्माणका लागि सेटब्याक छाड्नेलगायत विषयमा ठोस निर्णय नभएको भन्दै विरोध जनाए । विरोधपछि कांग्रेसतर्फका सदस्यहरू सभा बहिष्कार गरेर निस्केका थिए ।

नगरप्रमुख जनकराज पौडेलले ती विषयलाई छलफलको एजेन्डा बनाउने र कार्यविधि ल्याउने भन्दै सहमति गरेपछि मात्र बैठक चलेको थियो ।

पौडेलले मापदण्डसम्बन्धी कार्यविधि र शिक्षा ऐन चालू सभाबाटै पारित गर्ने आश्वासन दिएको जनप्रतिनिधिले बताए । ‘कतिपय वडाको प्रतिवेदन नआएकाले ढिला भएको थियो, मेयरसा’पले व्यावहारिक कठिनाइ हटाएर कार्यविधि पास गर्ने भनेपछि सहमति भयो,’ वडा नं. ३ की अध्यक्ष तथा विधायन समिति संयोजक लक्ष्मी बाँस्कोटाले भनिन्, ‘यो ठूलो विवाद होइन, व्यावहारिक कठिनाइ मात्र हो ।’ नगरपालिकाले बलेवालगायत ग्रामीण क्षेत्रमा सडक खन्ने क्रममा १८ मिटरको मापदण्ड लगाएपछि स्थानीय आक्रोशित थिए ।

उक्त मापदण्ड घटाउने सहमतिपछि ती क्षेत्रमा सडक खनिएका थिए । मापदण्डलाई विधेयकमार्फत घटाउन मस्यौदा गरिए पनि सभामा नआएको भन्दै विरोध भएको थियो । त्यस्तै बागलुङ बजारमा ठोस मापदण्ड नभएपछि कतै अगाडि, कतै पछाडि पारेर घर बनिरहेका छन् ।

जथाभाबी घर बन्दा नगर कुरूप भएको भन्दै ठोस मापदण्ड ल्याउन माग गरिएको वडा सदस्य घिमिरेले बताए । ‘कतिपय प्राविधिकले पैसा मागेर मापदण्ड घटाउने र घर बनाउन दिने गरेको गुनासो पनि आयो,’ उनले भने, ‘ठोस मापदण्ड भए यस्ता टीकाटिप्पणीसमेत हट्नेछन् ।’ असार २९ गते मात्र सभा सक्ने गरी ती विषय समेट्न तत्काल काम थाल्न पौडेलले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung