२१ बैशाख २०८१, शुक्रबार

 

नमुना कृषि गाउँमा ३१ हजार बिरुवा रोपिए

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँमा सूचीकृत बागलुङको काठेखोला गाउँपालिका–७ रेसमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार बिरुवा रोपिएका छन् ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रेसलाई विनियोजन गरेको २५ लाख मध्येबाट १० लाख रुपैयाँमा ३१ हजार बिरुवा रोपिएको कार्यक्रमकी कृषि प्राविधिक निर्मला शर्माले जानकारी दिइन् । रेसको बौर–तिङरिङको ५० रोपनीमा १५ हजार चिया, १० हजार अलैँची, तीन हजार सुन्तला, दुई हजार किम्बु र एक हजार टिमुरका बिरुवा रोपिएको उनले बताइन् ।

समुद्री सतहबाट १ हजार ७ सय मिटरदेखि २ हजार ३ सय मिटरसम्मको भिरालो जमिनमा राम्रो सम्भावना देखेपछि चिया तथा अलैँची खेती गरिएको काठेखोला गाउँपालिका–७ रेसका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

कृषि–उपजमा आत्मनिर्भर बन्ने उद्देश्यले तल्लो भागमा सुन्तला, उपल्लो भेगमा चिया तथा अलैँची खेती विस्तार गरिरहेको काठेखोला गाउँपालिकाले जनाएको छ । नमुना कृषि गाउँका लागि रेसमा १० वटा कृषि कार्यक्रममा लगानी गरिरहेको गण्डकी प्रदेशले जनाएको छ ।

रेसमा खोर, भकारो तथा मलखात सुधार र तालिम कार्यक्रम, डाले घाँस तथा उन्नत जातको घाँस विस्तार, घाँसको बिरुवा खरिद तथा रोपण, चिया, अलैँची तथा सुन्तलाका बिरुवा खरिद तथा रोपण, उन्नत जातको बिउ बोका सामूहिक पालन, एकीकृत घर–बगैँचा व्यवस्थापन तथा करेसाबारी निर्माण, पानीको स्रोत, पोखरी तथा खोला संरक्षण, महिलामैत्री औजार खरिद, गँड्यौलाको मल उत्पादन, होर्डिङबोर्ड तथा प्रोफाइल व्यवस्थापन कार्यक्रम गरिरहेको कृषि प्राविधिक शर्माले बताए ।

नमुना कृषि गाउँमार्फत पर्यटन प्रवर्धनका लागि समेत ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष लामिछानेको भनाइ छ । ‘हामी यहाँबाट तराईका जिल्लामा चिया बगान हेर्न पुग्छौं,’ उनले भने, ‘अब आफ्नै गाउँको चिया बगान पर्यटकको आकर्षणको केन्द्र हुनेछ ।’

मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँलाई रेसको साना किसान सहकारी संस्थाले समेत समन्वय गर्दै आएको सहकारी अध्यक्ष यामबहादुर कार्कीले बताए ।

बागलुङमा चारवटा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको कार्यक्रम सञ्चालनमा रहेको गण्डकी प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । रेस गाउँबाहेक जैमिनी नगरपालिकाको सर्कुवा, ताराखोलाको करिमेला तथा निसीखोलाको मसल नमुना कृषि गाउँ छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्