८ जेष्ठ २०८१, मंगलवार

 

बुर्तिबाङ राइजिङ युवा क्लबको आम्दानी–खर्चमा पदाधिकारीबीच विवाद

बुर्तिबाङ राइजिङ युवा क्लबका पदाधिकारीले आम्दानी–खर्चमा देखिएको विवाद आगामी साउन १० भित्र टुंगो लगाउने भएका छन् । सामुदायिक रेडियो ढोरपाटनले सोमबार चलाएको बहसमा क्लब अध्यक्ष सोम पौवी, उपाध्यक्ष मनकुमारी गैरे, महासचिव गोपाल महत र कोषाध्यक्ष टोपबहादुर केसीले यसमा मौखिक सहमति जनाएका हुन् ।

क्लबले २०७५ कोजाग्रत पूर्णिमा मेला सञ्चालनमा भएको आम्दानी–खर्च विवरण असार मसान्तमा पत्रकार सम्मेलनमार्फत प्रस्तुत गरेको थियो । त्यसको चार दिनपछि साउन ४ गते क्लबका महासचिव गोपाल महतले फेसबुकमार्फत २ लाख ७० हजार ३ सय ३३ रुपैयाँ बढी आम्दानी सार्वजनिक गरेसँगै विवाद चुलिएको हो ।

पदाधिकारबीच नै फरकफरक विवरण आएपछि आर्थिक पारदर्शितालाई लिएर आमनागरिकमा चासो बढिरहेका रेडियोले दुवै पक्षलाई बोलाएर बहस चलाएको थियो । कार्यक्रममा अध्यक्ष पौवीले आफूहरूले लामो समय लगाएर प्रस्तुत गरेको आम्दानी–खर्च विवरण पारदर्शी र त्रुटिरहित रहेको भन्दै महासचिवको अहमताका कारण यस्तो समस्या आइपरेको आरोप लगाए । ‘महासचिवज्यूले लिएको आम्दानी विवरणमा धेरै त्रुटि रहेको हामीले फेला पारिसकेका छौं,’ उनले भने, ‘त्यसैले उहाँको भनाइमा कुनै सत्य छैन ।’

महासचिव महतले आफूलाई पत्रकार सम्मेलनमा समेत खबर नगरिएको र आफूले सबै विवरण संकलन गर्दा २ लाख ७० हजार रकम फरक परेका कारण सामाजिक सञ्जालमा पोस्ट गर्न बाध्य भएको बताए । क्लबलाई अगाडि बढाउन थप छलफल गर्न आफू तयार रहेको पनि उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्