पेट्रोलियम खपत घटाउँदै विद्युतीय सवारीसाधन सञ्चालनमा जोड दिन सरकारले उपत्यकासहित अन्य सहरमा २० वटा चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको चालू आर्थिक वर्षको कार्ययोजनामा विद्युतीय सवारीसाधनको प्रयोग देशव्यापी बनाउन पर्याप्त मात्रामा चार्जिङ स्टेसन निर्माण गर्ने कार्यक्रम समावेश छ ।
सरकारले केही दिनपहिले मात्रै साझा यातायातलाई ३ सय विद्युतीय बस खरिदका लागि करिब ३ अर्ब बजेट उपलब्ध गराएको छ । यसअघि लुम्बिनीका लागि भनेर ल्याइएका २ वटा बससमेत चार्जिङ स्टेसन अभावमा थन्किएका छन् । ती बस सञ्चालनको जिम्मेवारी पनि साझा यातायातले नै पाएको छ । विश्व बैंकको सहयोगमा हस्तान्तरण गरिएका बस सरकारले अझै सञ्चालनमा ल्याउन सकेको छैन ।
यस्तै प्रदेश ३ सरकारले पनि साझा यातायातसँग सहकार्यमा विद्युतीय सवारीसाधन सञ्चालन गर्न सम्झौता गरेको छ । त्यसका लागि पनि चार्जिङ स्टेसन छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो । त्यस्ता स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन बोलपत्रको काम अगाडि बढेको यातायात मन्त्रालयले जानकारी गराएको छ ।
विद्युत् प्राधिकरणका अनुसार हाल १३ वटा चार्जिङ स्टेसन सञ्चालनमा छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने लक्ष्यसाथ चार्जिङ स्टेसन निर्माणको कामलाई विशेष प्राथमिकतामा राखिएको छ । पछिल्ला वर्ष अन्तर्राष्ट्रिय सवारी निर्माण कम्पनीले समेत आफ्ना उत्पादनमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिँदै आएका छन् ।
नेपालमा पनि त्यस्ता सवारीसाधनको आयातमा सहुलियत दिएर प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ । त्यसैले पनि नेपालमा त्यस्ता सवारीसाधनप्रति आकर्षण बढ्दो छ । पेट्रोलियम पदार्थको तुलनामा विद्युतीय सवारीसाधनको दैनिक सञ्चालन खर्च कम हुने भएकाले पनि सरकारले त्यस्तो निर्णय गरेको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीण अर्यालका अनुसार सरकारले आगामी दिन विद्युत् उत्पादन वृद्धि गरिरहँदा त्यसको खपतका लागि पनि विद्युतीय सवारीको उपयोगलाई जोड दिएको छ ।
साधनका लागि मन्त्रालयका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने नीति रहेको उनले बताए । चालू आवको अन्त्यसम्म राष्ट्रिय प्रसारण प्रणालीमा थप १ हजार २ सय मेगावाटभन्दा धेरै विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकाले पनि विद्युत् खपत बढाउनुपर्ने आवश्यकता रहेको उर्जा मन्त्रालयको दाबी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माणको काम सुरु भइसकेको छ । त्यसो त प्राधिकरणमा नमुना परीक्षणका लागि यसअघि नै चार्जिङ स्टेसन निर्माण भई सञ्चालनमा आइसकेको छ ।
यस्तै प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङले पनि विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन सञ्चालन गरिसकेको छ । चार्ज गर्दा तिर्नुपर्ने महसुलका विषयमा भने हालसम्म निर्णय भएको छैन । प्राधिकरणले त्यसबारे छिट्टै निर्णय हुने जनाएको छ ।



















































































































































































































