‘हरेक महिनाको एक दिन जनश्रमदान, बडिगाड गाउँपालिकाको जीवन्त अभियान’ भन्ने नारासहित गाउँपालिकाले सुरु गरेको अभियान प्रभावकारी बनाउन वडा नं २, खर्वाङका बासिन्दा जुटेका छन् ।
गाउँपालिकाले साउन २८ गते गाउँपालिकाभर सरसफाइ अभियान चलाउने जनाएको छ ।
त्यसै अनुरूप २ नम्बर वडा कार्यालयले आयोजना गरेको सामाजिक अगुवाहरूको बैठकले उक्त दिनलाई सरसफाइ तथा स्वच्छता अभियानका रूपमा मनाउने निर्णय गरेको छ ।
उक्त दिन मध्यपहाडी लोकमार्ग क्षेत्रमा रहने बासिन्दाले गिरिँदीदेखि लब्धीखोलासम्म सफाइ अभियानमा सहभागी हुने र माथिल्लो भेगमा बसोबास गर्ने बासिन्दाले आआफ्नो टोलमा सामूहिक रूपमा सरसफाइ, झाडी तथा सडक सफा गर्ने निर्णय गरेको हो ।
अभियानमा सहभागी नहुनेलाई जरिवाना तिराइने वडा कार्यालयले जनाएको छ।



















































































































































































































