७ जेष्ठ २०८१, सोमबार

 

सन्दीपले अन्तत: पाए अमेरिका जाने भिसा

नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले अन्तत: अमेरिका जाने भिसा पाएका छन्। सन्दीपलाई भिसा दिन अस्वीकार गरेको केही घण्टामा नै अमेरिकी राजदूतावासले उनलाई फेरि बोलाएर भिसा दिएको हो।

मंगलबार बिहान सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि उनले लगत्तै ट्वीट गर्दै आफु अचम्मित भएको बताएका थिए।

उनले ट्विटरमा लेखेका थिए, “राष्ट्रिय खेलाडी हुनाको नाताले सन् २०१६ यता आफ्नो देशलाई विश्वभरिका लीगमा प्रतिनिधित्व गर्दैआएको हुनाले मेरो भिसा अस्वीकार गरिँदा म ठूलो आश्चर्यमा परेको छु।”

लगत्तै अर्को ट्वीटमा उनले भिसा अस्वीकार गरिएको जानकारी पाउँदा आफू नि:शब्द भएको उल्लेख गरेका थिए। उनले सबै कागजपत्रहरू प्रस्तुत गर्दा पनि प्रवेशाज्ञाको आवेदन अस्वीकार गरिएकाले आफूलाई क्यारेबियन लीगमा बार्बेडस ट्राइडन्ट्सका लागि खेल्न गाह्रो हुने उल्लेख गरेका थिए।

सन्दीपले परराष्ट्रमन्त्री, हेलो सरकार र अमेरिकी दूतावासलाई मेन्सन गर्दै ट्वीट गरेपछि लगत्तै ‘रिभ्यू’ गर्न भन्दै दूतावासले बोलाएर भिसा दिएको हो ।

भिसाको समस्या हल भएपछी लामिछानेले अमेरिकी राजदूतावासलाई धन्यवाद दिदैं दिउँसो २:२३ बजे ट्वीट गरेका छन्।

लामिछाने सेप्टेम्बरको पहिलो साता अमेरिका हुँदै क्यारेबियन जाने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्