“येन बद्धो वलिराजा दानवेन्द्रो महावलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।”
हिन्दु धर्मावलम्बीहरूले श्रावण शुक्ल पूर्णिमामा मनाउने ‘जनै पूर्णिमा’, ‘रक्षा बन्धन’ र ‘राखी बन्धन’ पर्वका रुपमा देश तथा परदेशमा मनाइएको छ । पर्वका अवसरमा सांस्कृतिक सम्वर्द्धनसहित एक अर्काप्रति सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, दीर्घायु, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरूले श्रावण शुक्ल पूर्णिमामा मनाउने ‘जनै पूर्णिमा’, ‘रक्षा बन्धन’ र ‘राखी बन्धन’ को यो पर्व लाई ऋषि तर्पणि, यज्ञोपवीत पर्व र राखी पूर्णिमा पनि भनिन्छ । विभिन्न प्रकारका गेडागुडि मिसाएर क्वाँटी पकाएर खाने दिनको रुपमा पनि मनाईन्छ ।
जनै पूर्णिमाका तीन पक्ष रहेका छन्– यज्ञोपवीत, रक्षाबन्धन र अध्यायोकर्मांग ऋषि तर्पणी ।
हिन्दू धर्मका वैदिक ग्रन्थका अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ–आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् ।
सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । साथै यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।
ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावणशुक्लपूर्णिमाका दिन अध्यायोपाकर्म (स्वाध्यायाध्ययनारम्भ) गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ । ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न न सक्नेहरूले पनि मात्र ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ ।
यो पर्वका अवसरमा देशभरका नदीहरुमा स्नान गरी मन्दिरहरुमा पुगेर यजमानसँग बन्धन बाधिन्छ । भने दिदि बहिनीले दाजु तथा भाईको दीर्घायुको कामना गरी रक्षाबन्धन बाँधदिने परम्परा पनि छ । राजधानीमा पशुपति,बंगलामुखी, कोटेश्वर महादेव, भद्रकाली लगायतका मन्दिर तथा पुजास्थलमा पुगी बिहानै देखि बन्धन बाध्नेहरुको बाक्लो भीड देख्न सकिन्थ्यो ।



















































































































































































































