हिन्दु संस्कारअनुसार मनाइने जैन पुर्णिमा तथा रक्षाबन्धन अन्य जिल्लामा जस्तै बागलुङ जिल्लामा यस वर्षपनि मनाइएकाे छ । बागलुङ जिल्लामा हिन्दु धर्मावलम्बीले बिहान देखि नै आफ्नाे धर्म संस्कृति अनुसार जनै फेर्ने र रक्षा बन्धन बाँधेर मनाइरहेका छन ।
बागलुङ सदरमुकाममा रहेको ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिले हरेक वर्ष जस्तै यो वर्ष पनि रक्षाबन्धन महाेत्सवकाे रूपमा मनाएकाे छ । जिल्लाका प्रशासक, राजनीति दलका नेता तथा कार्यकर्ता, पत्रकार, विद्यार्थी समाजसेवीलगायतलाई ब्रम्हकुमारी सावित्रीले हातमा रक्षाबन्धन बाँधेर महाेत्सव रूपमा मनाएका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पाैडेलले मानव जीवनलाई सार्थक बनाउन अध्यात्मिक चिन्तन जरुरी भएको बताए । प्रेम सद्भाव कायम गरेर अगाडि बढ्न सकेको खण्डमा मात्रै समाज राम्रो हुने नगरप्रमुख पाैडेलले बताए ।

कार्यक्रममा ओम शान्ति ईश्वरीय विश्वविद्यालयका प्रमुख ब्रम्हकुमारी सावित्रीले अहिले सबैले शान्ति खाेजेको तर शान्तिकाे लागि चाहिने समय भने दिन नसकेको कारण त्यो ज्ञान हासिल गर्न नसकेको बताईन्। सबैलाई राम्रो गर्ने, सबै प्रति सकारात्मक साेच राख्न सकेको खण्डमा मात्र वास्तविक शान्ति मिल्ने सावित्रीले बताईन्।
बागलुङ जिल्लाकाे पश्चिम क्षेत्र ढाेरपाटन उत्तर गंगामा प्रत्येक वर्ष लाग्ने जैन पुर्णिमाकाे मेला भने यस वर्ष मध्यपहाडी लाेक मार्ग भत्किएपछि प्रभावित बनेको छ ।
हरेक वर्ष जनै पुर्णिमाकाे दिनमै लाग्ने यो जिल्ला कैं सबैभन्दा ठूलो मेला यही श्रावण २० गते ढाेरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाकाे सिमानामा पर्ने तुरतुरे ताल वरिपरिको सडक नदिले बगाएपछि सडक अवरुद्ध हुदाँ मेला प्रभावित बन्न पुगेको हाे ।बागलुङ तथा गुल्मी जिल्ला आसपासका ठाउँबाट मेला हेर्न जाने आन्तरिक पर्यटक सडक संचालन नहुदाँ यस पटक ढाेरपाटन मेलामा सहभागी हुन जान सकिरहेका छैनन्।




















































































































































































































