१५ कार्तिक २०८३, शनिबार

 

नेपालकै लामो झोलुंगे पुल बनाउन पर्वत–मुस्ताङ सडक दैनिक साढे ८ घन्टा बन्द

फाइल तस्बिर

बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि बनाउन लागिएको झोलुङ्गे पुलको सहायक जग हाल्न दैनिक साढे ८ घण्टा सडक बन्द गरिने भएको छ । नेपालकै लामो उक्त पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुस्मा–१ अदुवाबारी जोड्नेछ । यसका लागि ९ दिनसम्म पर्वत–बेनी–मुस्ताङ सडकखण्ड बन्द गर्न लागिएको हो ।

झोलुङ्गे पुलको आवश्यक लठो तान्न सहायक जग निर्माण गर्नुपर्ने र त्यस क्रममा ढुंगामाटो सडकमा खस्ने सम्भावना रहन्छ । सम्भावित दुर्घटनाप्रति सजगता अपनाउँदै काम होउन्जेल सडक बन्द गर्ने निर्णय गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए ।

दुवै जिल्लाका प्रजिअ, बागलुङ नगरप्रमुख, जिल्ला प्रहरीप्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ अध्यक्षलगायतको उपस्थितिमा मंगलबार साँझ बसेको संयुक्त बैठकले पुल निर्माणलाई तीव्रता दिन यस्तो निर्णय गरेको हो ।

भदौ ५ देखि १३ सम्म बिहान ७ देखि ९ र बिहान १० देखि अपराह्न साढे ४ बजेसम्म कुस्मा–१ मालढुंगादेखि जलजलाको डमुवाखोलासम्म गाडी पूरै रोकेर कामलाई तीव्रता दिन लागिएको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए ।

सडक बन्द हुँदा म्याग्दी र मुस्ताङबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी प्रभाावित हुनेछन् । यस क्रममा पर्वतको मालढुंगा, जलजला हुँदै म्याग्दी, मुस्ताङ आउजाउ गर्ने सवारीसाधनलाई बागलुङ बजार हुँदै म्याग्दीको रत्नेचौरदेखि बेनी जाने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रजिअ क्षत्रीले जानकारी दिए ।

कार्यालय, विद्यालयबाट आउजाउ गर्ने समयलाई ध्यानमा राखेर निर्माणकार्यले समेत गति लिने गरी समयतालिका तय गरिएको नगरप्रमुख पौडलेले बताए । पुल निर्माणको जिम्मा पाएको हिमशिखर कन्स्ट्रक्सनले बागलुङ खण्डको जग बनाएर पर्वत खण्डमा काम गरिरहेको छ ।

पर्वत खण्डमा काम गर्दा सडक बाधक बनेका कारण प्रशासन तथा सम्बन्धित नगरपालिकालाई बन्द गरिदिन आग्रह गरिएको कन्स्ट्रक्सनले जनाएको छ । उक्त झोलुङ्गे पुल ५ सय ६७ मिटर लम्बाइ र १ सय ३८ मिटर उचाइको हुनेछ । ६ करोड ९१ लाख रुपैयाँ लागतको पुल ब्रिज सस्पेन्सन डिभिजन कार्यालय काठमाडौंले हिमशिखर कन्स्ट्रक्सनलाई ठेक्का दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung