बागलुङ नगरपालिका–६ धारापानी, सिम हुँदै ७ नम्बर वडा कालिमाटी जोड्ने सडकमा निर्माणाधीन नाली मापदण्डविपरीत पाइएको छ । नगरपालिकाले उक्त नाली पुनर्निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको छ ।
अनुगमनका क्रममा नालीमा मापदण्ड नपुगेको भेटेपछि नगरपालिकाका प्राविधिकले भत्काइदिएका छन् । उक्त सडक कालोपत्र गर्न अहिले धमाधम काम भइरहेको छ ।
आइतबार सडक निर्माण भइरहेको स्थान पुग्दा नाली स्टिमेटअनुसार नभएको पाइएकाले करिब १२ मिटर पूर्ण रूपमा भत्काएर पुनर्निर्माण गर्न निर्माण कम्पनीलाई भनिएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले बताए ।
प्राविधिकले नै नाली भत्काएर अबदेखि यस्तो कार्य नगर्न आग्रह गरिएको बागलुङ नगरपालिकाका सुपरभाइजर दीपेन्द्र रेग्मीले जानकारी दिए ।
आगामी कात्तिक मसान्तमा सक्ने गरी फेवा निर्माण सेवाले सडक कालोपत्रसँगै नाली निर्माणको ठेक्का लिएको छ ।
यस वर्ष नगरपालिकाले २ करोड १३ लाखको लागतमा १ हजार ८ सय मिटर सडक कालोपत्र गर्न लागेको इन्जिनियर शर्माको भनाइ छ । ‘नालीमा ढुङ्गा नमिलाई राखिएको, आवश्यकभन्दा ठूला ढुङ्गा ठाडो तरिकाले राखेको पाइयो,’ उनले भने, ‘यसरी निर्माण गर्दा टिकाउ हुँदैन, ग्राभेल गर्ने बेलै लोडको चापले भत्काउँछ ।’
शर्माले सडकलगायत नगरपालिकाद्वारा निर्माण गर्न लागिएका अन्य संरचना गुणस्तरीय बनाउन नगरपालिकाले पटकपटक अनुगमन गर्ने, कमी–कमजोरी सच्याउन लगाउने गर्दै आएको बताए ।
श्रमिकले गलत तरिकाले नाली निर्माण गरेका कारण त्यसलाई नगरपालिकाका प्राविधिकको सल्लाहमा सच्याइएको फेवा निर्माण सेवाका प्रतिनिधि राजु पौडेलले स्विकारे । भत्काइएको १२ मिटर नालीलाई मापदण्डअन्तर्गत ल्याउन सुरु गरिएको र आगामी दिन यस्तो समस्या दोहोरिन नदिने कम्पनीले जनाएको छ ।



















































































































































































































