३ श्रावण २०८३, आईतवार

 

नाडामा ग्राहक तान्दै विद्युतीय कार

अटोमोबाइल्स एसोसियसन अफ नेपालकोे आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो–२०१९’ मा विद्युतीय गाडीप्रति आकर्षण देखिएको छ । आइतबारसम्म चल्ने ६ दिने प्रदर्शनीमा नेपालमा उपलब्ध सानादेखि ठूला र सस्तादेखि महँगा सबैजसो गाडी उपलब्ध छन् ।

खरिदकर्ता आकर्षित भएकै कारण कम्पनीहरू एकपछि अर्को विद्युतीय गाडी सार्वजनिक गरिरहेका छन् ।

हुन्डाई ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेटलले नाडा सोमा आफ्नो नयाँ विद्युतीय कार ‘कोना’ प्रदर्शनीमा राखेको छ । आफूहरूले आइओएनआइक्यू र कोना गरी दुई विद्युतीय गाडी बिक्री गरिरहेको हुन्डाई नेपालका डिलरसिप प्रमुख दिवाकर रेग्मीले बताए ।

आइओएनआइक्यूमा २८ केडब्लुएच लिथियम–इओन पोलिमर ब्याट्रीमा कनेक्ट हुने ८८ केडब्लूको इलेक्ट्रिक मोटर छ जसले एकपटक चार्ज गरेपछि २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिने कम्पनीले जनाएको छ । यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने ओबिसी चार्जर हुन्छ ।

अर्को विद्युतीय कार कोनाका दुई मोडल छन् । कोना–१५० केडब्लूएच मोटरजडित मोडलको मूल्य ६५ लाख ९६ हजार छ भने १०० केडब्लूएच मोटर जडित मोडलको मूल्य ५५ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ ।

नाडा सोमा पहिलोपटक सहभागिता जनाउँदै गरेको बिवाइडी (बिल्ड योर ड्रिम) कम्पनीले पनि विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ । बिवाइडी कम्पनीको आधिकारिक बिक्रेता साइमेक्स इङ्कले नेपालमा केही वर्षयता विद्युतीय कार बिक्री गरिरहेको छ । अहिले ई–सिक्स मोडलको कार प्रदर्शनीमा छ । यो मोडलमा सिटसंख्या सात र ८० केडब्लूएच मोटर क्षमता छ । एकपटक चार्ज गरेपछि ४ सय किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । ४९ लाख मूल्यको यो कार पूर्ण चार्ज हुन २ घण्टा लाग्ने बताइएको छ।

साइमेक्स इङ्कले बिवाइडी कम्पनीकै एम–थ्री मोडल शनिबार ‘लन्च’ गर्ने जनाएको छ । यो मोडलमा पाँच सिटसंख्या र ५०.३ केडब्लूएच मोटर क्षमता रहने, एकपटक चार्ज गरेपछि ३१० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ । ४८ लाख रुपैयाँ मूल्यको यो कार पूर्ण चार्ज हुन १.३ घण्टा लाग्ने बताइएको छ ।

त्यसै गरी विद्युतीय कार बिक्री गर्ने प्युजो ब्रान्ड पनि प्रदर्शनीमा छ । उक्त ब्रान्डको आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेसनअन्तर्गतको सांग्रिला मोटर्सले ‘पार्टनर टिपी मोडल’को इलेक्ट्रिक कार बिक्री गर्दै आएको छ । यस मोडलमा ४९ केडब्लूएच मोटरक्षमता छ जसले एकपटक चार्ज गरेपछि १६० किलोमिटरको ड्राइभिङ दिने सांग्रिला मोटर्सका एसिस्टेन्ट म्यानेजर राकेश श्रेष्ठले बताए ।

फ्रान्समा निर्मित उक्त कारको मूल्य ४८ लाख रुपैयाँ छ । यसको ब्याट्री डिसी चार्जरमार्फत आधा घण्टामै ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । पाँच वर्ष वारेन्टी रहेको ब्याट्रीको क्षमता २२.५ किलोवाट छ । त्यस्तै यस कारको ग्राउन्ड क्लेरेन्स २ सय एनएम छ । श्रेष्ठका अनुसार यो कार व्यावसायिक प्रयोगका लागि उपयुक्त रहेको र लक्ष्यित उपभोक्ता होटल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung