३ श्रावण २०८३, आईतवार

 

८५ हजारले हेरे नाडा अटो सो

काठमाडौँको भृकुटीमण्डपमा मंगलबार सुरु भएको १२औँ नाडा अटो सो आइतबार सम्पन्न भएको छ । सो करिब ८५ हजार जनाले अवलोकन गरेको आयोजक अटोमोबाइल एसोसिएन अफ नेपाल (नाडा) ले जनाएको छ । यस वर्षको अटो सोमा गत वर्षभन्दा १५ हजार बढी उपभोक्ता सहभागी भएको मेला संयोजक निराकार श्रेष्ठले बताए ।

सोमा २३ वटा चारपांग्रे र १९ वटा दुईपांग्रे सवारी बिक्रेता कम्पनीले आफ्ना गाडी प्रदर्शन गरेका थिए । त्यस्तै १२ ब्रान्डका लुब्रिकेन्ट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री, १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा ११ वटा वणिज्य बैंक, एउटा विकास बैंक र एउटा बिमा कम्पनीको सहभागिता थियो ।

आयोजकका अनुसार यस वर्षको नाडा अटो सोमा उत्कृष्ट चारपांग्रे सवारीसाधनको स्टल टोयोटाका लागि नेपालको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले जितेको छ भने उत्कृष्ट दुईपांग्रे सवारीसाधनतर्फको स्टल केटिएमका लागि नेपालको आधिकारिक विक्रेता हंसराज एन्ड हुलासचन्द कम्पनी प्रालिले हात पारेको छ । त्यसै गरी उत्कृष्ट ल्युब, टायर, पाटर््सलगायत स्टलमा टोटल लुब्रिकेन्ट्सका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिले जितेको आयोजकले जानकारी दिए ।

नाडाले उत्कृष्ट स्टलहरू छनोट गर्न नाडाका महासचिव सुनील रिजाल, पत्रकारका तर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो सोको व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिस प्रालिका प्रबन्धनिर्देशक सन्तोष क्षेत्रीसमेत सदस्य रहने गरी एउटा छनोट समिति गठन गरेको थियो ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले नाडा अटो सो २०१९ लाई सफल बनाउन सहयोग पुर्‍याउने सबै सरोकारवाला कम्पनी र संस्थालाई धन्यवाद दिए ।

नाडाले नाडा अटो सो २०१९ सम्पन्न गर्न अध्यक्ष दाहालकै अध्यक्षतामा १३ सदस्यीय नाडा अटो सो सल्लाहकार समिति र केन्द्रीय कार्यसमिति सदस्य निराकार श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय नाडा अटो सो २०१९ व्यवस्थापन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung