भारतीय अटोमोबाइल्स उद्योगले पछिल्लो २० वर्षे अवधिमा सबैभन्दा बढी मन्दीको मार खेप्नुपरेको छ । दक्षिण एसियाको सबैभन्दा ठूलो अटोमोबाइल्स उद्योगको देश मानिएको भारतमै कम सवारीसाधन बिक्री भएको तथ्यांक सार्वजनिक भएको छ ।
लगातार १० महिनादेखि घट्दो ग्राफको चित्रमा यो व्यवसाय गिरेको छ । भारतीय अटोमोबाइल्स निर्माता सोसाइटीका अनुसार अगस्टमा गत वर्षको तुलनामा सवारी बिक्री ३१ दशमलव ५७ प्रतिशतले घटेको तथ्यांक छ ।
अटोमोबाइल्स क्षेत्रको योगदान भारतको अर्थतन्त्रमा साढे ७ प्रतिशत छ । करिब ३ करोड मानिसले यो उद्योग र व्यवसायमा प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसैले यो उद्योग र व्यवसायको घट्दो प्रतिफलबारे अर्थशास्त्रीले चिन्ता प्रकट गर्न थालेका छन् ।
अगस्टमा मात्र अघिल्लो वर्षको तुलनामा ४१ दशमलव ९ प्रतिशतले घटेको छ । १ लाख १५ हजार ९ सय १५ सवारीसाधन मात्र बिक्री भएको सोसाइटीको तथ्यांक छ । त्यसै गरी दुईपांग्रे साधनको बिक्री २२ दशमलव २४ प्रतिशतले घटेको छ ।
त्यसै गरी व्यापारिक सवारीसाधनको बिक्री पनि ३८ दशमलव ७१ प्रतिशतले घटेको छ । घट्दा पनि ५१ हजार ८ सय ९७ सवारी बिक्री भएका छन् । अटोमोबाइल्स उद्योगको घट्दो ग्राफबीच केन्द्रीय सडक तथा परिवहनमन्त्री नितिन गडकरीले उद्योगी एवं व्यापारीलाई आश्वस्त पार्दै भनेका छन्, ‘सरकारले सवारीसाधन खरिदमा जिएसटीे दर कम गर्नेछ ।’
त्यसो गर्दैमा सरकारले डिजेल र पेट्रोल इन्जिनमा रोक लगाउने निर्णय गरेको होइन । सन् २०३० सम्म भारत सरकारले तेल इन्जिन विस्थापन गर्ने उद्घोष गरेको छ । निर्माता कम्पनीलाई पनि त्यहीअनुसार इलेक्ट्रिक इन्जिनका सवारी मात्र उत्पादन गर्न आग्रह गरेको छ ।













































































































































































































