१ जेष्ठ २०८२, बिहीबार

 

बागलुङ समाजद्वारा दसैं विशेष शुभकामना तथा नारी सम्मान कार्यक्रम

बागलुङ समाज कल्याण केन्द्र ,काठमाडौंको आयोजनामा वडा दसैं, दिपावली, नेपाल संवत ११४० एवं छठको शुभकामना आदाप्रदान तथा कालिका भगवती नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ।

बागलुङ समाजले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि चाडपर्वको अवसरमा समाजमा आबद्ध सम्पूर्ण बागलुङेहरुलाई भेला गरी शुभकामना आदानप्रदान तथा आपसी सदभाव कायम राख्न कार्यक्रम आयोजना गरेको बागलुङ समाज कल्याण केन्द्रका अध्यक्ष विराटकुमार श्रेष्ठले नयाँ विश्वलाई बताए।

बागलुङ समाजले महिलाहरुले समाज गरेको योगदानलाई कदर गर्दै गत वर्षदेखि कालिका भगवती नारी सम्मान प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए।

उक्त नारी सम्मानबाट गत वर्ष केन्द्रकी उपाध्यक्ष रसुमिला श्रेष्ठलाई सम्मानित गरिएकोमा यस वर्ष बागलुङ समाज अन्तर्गतको महिला समूहकी संस्थापक अध्यक्ष चमेली शाक्यलाई प्रदान गर्ने निर्णय भएको उनले बताए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्वमन्त्री ओमकार गौचनले बागलुङेबिचको आपसी सदभाव र भाइचार आउँदा दिनमा पनि कायम राख्नुपर्ने बताए। उनले मौलिक संस्कृति तथा परम्परा संरक्षण गर्नका लागि भावी पुस्तालाई पनि सकृय सहभागिता गराउनुपर्नेमा जोड दिए।

त्यस्तै आफ्नो भनाइ राख्दै अखिल नेपाल महिला संघको अध्यक्ष तथा सांसद अमृता थापाले बागलुङ समाजको जस्तो महिला सम्मान र आपसी सदभावबाट अरु समुदायले पनि पाठ सिक्नुपर्ने बताईन्।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष रसुमिला श्रेष्ठले बागलुङवासीको एकता उदाहरणीय रहेको र यसलाई कायम राख्दै अगाडी बढ्नुपर्ने बताईन्। काठमाडौंमा बागलुङेहरुले आपसी एकता र सदभावका कारण छुट्टै पहिचान बनाउन सफल भएको उनको भनाइ थियो।

त्यस्तै नारी सम्मान ग्रहण गरेपछि बोल्दै चमेली शाक्यले यसप्रकारको नारी सम्मान गर्ने परम्पराले नारीले घर-परिवार र समाजको विकासमा गरेको योगदानको कदर हुने बताईन्। उनले आफुलाई प्रदान गरिएको सम्मान अग्रज चन्द्रकुमारी श्रेष्ठ र महिला समूहप्रति समर्पण गर्न चाहेको बताइन्।

‘आज नारी सम्मान पाइरहँदा म श्रद्ध्य चन्दकुमारी श्रेष्ठलाई सम्झन चाहन्छु। बागलुङमा नारी शिक्षाको शुरुवातको श्रेय चन्द्रकुमारी श्रेष्ठलाई जान्छ।

औपचारिक शिक्षाको थालनी हुनु भन्दा पहिले नै उहाँले महिलाहरुलाई कखरा सिकाउने व्यवस्था मिलाउनुभयो। उहाँले थालनी गर्नु भएको महिला शिक्षा र जागरुकताको जगमा नै हामी अहिलेको अवस्थासम्म आउन सक्यौं जस्तो लाग्छ’ उनले भनिन्।

उनले श्रेष्ठको पहलमा नै विसं २०१० सालमा बागलुङ नगरपालिका–३, नयाँ बजारस्थित कालिका कन्या माविको स्थापना भएको स्मरण गरिन्। ‘कन्या मावि स्थापना त भयो तर आफ्नो भवन थिएन्। विसं २०१६ सालमा राजा महेन्द्रको सवारी हुँदा विद्यालयको लागि जग्गा पाउँ भनी निवेदन गर्न उहाँ राजाको सवारी पछ्याउँदै गलकोटसम्म पुग्नुभएको थियो।’

त्यसैगरी कार्यक्रममा बोल्दै श्याम श्रेष्ठले बागलुङ समाजले पहिलोपटक स्मारिक प्रकाशन गर्ने तयारी गरिरहेको बताए। उनले बागलुङ समाज कल्याण केन्द्र ,काठमाडौंको स्मारिका प्रकाशनका लागि पूर्व अध्यक्ष तथा सम्पूर्ण सदस्यहरुलाई समन्वय गरिदिन आग्रह गरे।

बागलुङ समाज कल्याण केन्द्र ,काठमाडौंको टेलिफोन डायरी प्रकाशनमा आएको र समाजको स्मारिका प्रकाशनबाट २५ लाख वचत गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिनु भयो । स्मारिका प्रकाशनको लागि व्यवसायी तथा समाजसेवी भरत कुमार श्रेष्ठले १ लाखको विज्ञापन दिने प्रतिवद्धता जनाउँनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता बागलुङ समाजका अध्यक्ष विराटकुमार श्रेष्ठ,उपाध्यक्ष रसुमिला श्रेष्ठले स्वागत र संचालन सचिव स्वंयम प्रकाश श्रेष्ठको रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung