३ श्रावण २०८३, आईतवार

 

चाणक्यबाट प्रभावित थिए अब्दुल कलाम

चन्द्रगुप्त मौर्यका गुरु एवं प्रधानमन्त्री चाणक्य सामान्य झुपडीमा बस्थे । एक साँझ उनीसँग भेट गर्न आफन्त आएछन् । ती व्यक्ति प्रवेश गर्नासाथ उनले बलिरहेको दियो निभाएर अर्कै दियो बालेछन् ।

यो देखेर आगन्तुकलाई अचम्म लागेछ । उनको जिज्ञासा शान्त पार्न चाणक्यले भने– ‘यो सरकारी तेलबाट बलेको थियो । त्यसैले निभाएर अर्को दियो बालेको हुँ । किनकि तपाईं मेरो व्यक्तगत अतिथि हुनुहुन्छ । व्यक्तिगत अतिथिका लागि सरकारी तेल बाल्नु फजुल खर्च हुन आउँछ ।’

भारतमा शासन र शासकहरूको कुरा गर्दा अहिले पनि चाणक्यबारे चर्चा हुन्छ । माथिकै प्रसंगमा आधारित जीवनशैली त्यहाँका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम आजादले पनि देखाएका थिए । उनको जीवनशैली सबैजसो शासकका लागि प्रेरक हुन सक्छ ।

कलामको जीवनमा सादगी, मितव्ययिता र इमानदारीजस्ता अनुकरणीय गुण रहे । राष्ट्रपति भएसँगै उनीसँग भेट गर्न केही आफन्त केरलबाट दिल्लीस्थित राष्ट्रपति कार्यालय आएछन् । सबैलाई राष्ट्रपति भवन ल्याइएछ । उनीहरूलाई ल्याउँदा सरकारी सवारी उपयोग नगर्न कलामले अनुरोध गरे । राति बास पनि सरकारी अतिथिगृहमा नराखेर अन्यत्रै व्यवस्था गरिएछ ।

करिब एक हप्ता बसेका अतिथिका लागि खर्चबापतको ३ लाख ५४ हजार ९ सय रुपैयाँ उनले आफैंले भरण गरे । कार्यकाल पूरा गरेपछि उनलाई बिदाइ सन्देश दिन आग्रह गरिएछ । त्यस बखत उनले ‘म अझै पनि एक अर्ब देशवासीसँगै छु, कसरी बिदाइको सन्देश दिऊँ ?’ भनी जवाफ दिए ।

राष्ट्रपति भएकै बखत उनलाई बनारस हिन्दु विश्वविद्यालयको आइआइटीको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा निम्त्याइयो । मञ्चमा लहरै ५ वटा कुर्सी राखिएका थिए । बीचको कुर्सी अन्यभन्दा ठूलो रहेछ जुन राष्ट्रपतिलाई थियो । तर उनी उक्त कुर्सी छाडेर सामान्य कुर्सीमा बसे ।

कार्यक्रमका सभाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपतिले ‘राष्ट्रपति महोदय, यो ठूलो कुर्सी हजुरलाई हो’ भने । तर उनले जवाफ दिए– ‘म सानो कुर्सीमै बस्न रुचाउँछु ।’ त्यसपछि उपकुलपतिले पनि सामान्य कुर्सी मगाएर आसन ग्रहण गरे ।

कलाम राष्ट्रपति भएपछि पहिलोपटक केरेलको त्रिवेन्द्रम पुग्दा उनी बसेको सरकारी भवनमा भेट्न जाने पहिलो व्यक्ति जुत्ता सिउने मोची थियो ।

त्यसपछि उनले खाना खाने सामान्य झोपडी होटलका मालिक पुगेका थिए । विगतमा कलामले देखाएको आत्मीय व्यवहारकै कारण उनी त्यहाँ गएका थिए । वैज्ञानिक एवं अनुसन्धानरत विद्यार्थी भएर कलामले धेरै वर्ष त्रिवेन्द्रममा बिताएका थिए ।

आज कलाम छैनन् तर पनि आदर्श व्यक्तिको गणना गर्दा उनको नाम छुट्दैन । उनको जीवनशैलीबाट प्रेरणा लिन सके शासकहरू जनताबाट तिरस्कृत हुन पर्दैन ।

सादा जीवन र उच्च विचारका साधक कलाम राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथि भएर नेपाल पनि आएका थिए ।

(सञ्जय पन्थी, एजेन्सीकाे सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung