४ श्रावण २०८३, सोमबार

 

प्रधानमन्त्रीज्यू, सभ्यता बिग्रेको भाषाले होइन, राजनीतिले

 

प्रधानमन्त्रीज्यू,

मुलुकका बारेमा प्रधानमन्त्रीले चिन्ता गर्नु स्वाभाविक हो । यस क्रममा तपाईंले पछिल्लो समय मिडिया–जगत्को भाषाबारे चिन्ता गर्नुभएको छ । मंगलबार राजधानीको एक कार्यक्रममा बोल्ने क्रममा तपाईंले पश्चिमा संस्कृति अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

सञ्चारमाध्यममा प्रयोग भएका भाषागत कमजोरीलाई भाषा र संस्कृतिका पक्षमा संवेदनशील नभएको भनी औंल्याउनुभयो । विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपाटीका कारण नेपाली भाषा, संस्कृति र मर्यादालाई मिडिया र नयाँपुस्ताले बिर्संदै गएको गुनासोलाई नाजायज कसरी मान्नु ?
नेपालमा सभ्यताका पर्खालहरू बागमतीमा फालिए भन्ने तपाईंको अनुभव सत्यमा आधारित छ । पत्रकारले ‘बाउलाई पनि तपाईं नभन्ने’ गरेको भन्दै जडमै पुगेर वस्तुगत रूपमा समस्या उजागर गरिदिनुभयो । साथै अंग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाईं भन्न नसक्ने पत्रकारले कस्तो सभ्यताको विकास गर्ला भन्ने तपाईंको चिन्ता नाजायज कसरी मान्नु ?

सानालाई तिमी, ठूलालाई तपाईं भन्नु स्वाभाविक हो । तर मिडियामा छु भन्दैमा पितालाई तिमी भन्नु पटमूर्खता नै हो । त्यसैले प्रधानमन्त्रीको चिन्ता स्वाभाविक नै मान्न कर लाग्छ ।

देशको जिम्मेवार व्यक्तिले सार्वजनिक रूपमा गर्ने व्यवहार र भाषाशैली समाजले अनुकरण गर्ने हो । यति भनिरहँदा पत्रकारिताको मात्र नभएर समाजको सभ्यता नै भत्किएको छ । तर जिम्मेवार मिडियाले व्यावसायिकतालाई अँगाल्ने क्रममा पितालाई तिमी भन्नुपरेको होला । तर राजनीतिक नेतृत्वले अरूभन्दा आफू उच्च बन्न तँ नै भन्ने परम्परा बनेको छ । पेसा र व्यवसायका आ–आफ्नै भाषाशैली र मर्यादा हुन्छन् । सैनिक पेसामा रहेको अधिकृत भाइले दाजुलाई तिमी भन्नु, प्रहरी सेवामा रहेको उच्च पदकी श्रीमतीले कनिष्ठ पदका श्रीमान्लाई तिमी भन्नुजस्तै मिडियाले सबैलाई समान तहमा तिमी भन्नु सभ्यताको अनादर होइन ।

पत्रकारले गर्दा सभ्यता बिग्रिएको हो भनेर नबुझिदिन आग्रह छ । प्रसंगले उदाहरण बन्न पुगेका तत्कालीन सभामुख कृष्णबहादुर महरा मिडियाको सम्बोधनमा हिजो पनि ‘तिमी’ नै थिए । आज अभियुक्त रहँदा पनि तिमी नै छन् । भोलि दोषी करार वा सफाइ पाउँदा पनि तिमी नै बन्नेछन् । नेपालको पत्रकारितामा तिमी सम्बोधन गर्ने श्रेय कान्तिपुर दैनिकलाई जान्छ । कान्तिपुरले नै प्रधानमन्त्रीदेखि कैदीसम्म सबैलाई तिमी सम्बोधन सुरु गरेको हो ।

तत्कालीन राजालाई भने कान्तिपुरले मौसुफ/बक्सियो भन्ने भाषालाई निरन्तरता दिएको थियो । अहिले उनै पूर्वराजालाई तिमी भन्ने गरेको छ ।

त्यही स्कुलिङबाट हुर्किएको नेपाली व्यावसायिक पत्रकारिताले राष्ट्रपतिदेखि अभियुक्तसम्मलाई एउटै सम्बोधन गर्छ । मिडियाको भाषाभन्दा चरित्रमा ठूलो खोट छ । त्यो अँगालिदिँदा पत्रकारिताजगत्ले आपत्ति मान्न नपर्ला । खोटरहित न राजनीति रह्यो न पत्रकारिता । तर सबैभन्दा महत्त्वपूर्ण पक्ष त देशको उच्च पदमा पुग्नेहरूको जीवनशैली र चरित्र हुने होइन र ?

प्रधानमन्त्रीज्यू,
हिजोसम्म महरालाई तपाईं भन्ने मिडियाले अभियुक्त हुँदा पनि त्यही सम्बोधन गरिदिए बालमनोविज्ञानमा कस्तो प्रभाव पर्ला ? हुन त महरा पनि कसैका पिता, कसैका श्रीमान् वा ससुरा होलान् । परिवार र मिडियाको एउटै भाषा हुनुपर्छ भन्ने छैन । परिवार र आफन्तले पक्कै महरालाई तिमी भन्न सक्ने छैनन् । किनकि परिवारको आफ्नै सभ्यता र संस्कार हुन्छ । यदि त्यसलाई पत्रकारिताले भत्काएको हो भने पत्रकारिताजगत्ले क्षमा माग्नुपर्छ ।

प्रसंगले फेरि पनि भाषा र सभ्यताकै कुरामा जाऊँ । मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्‍यो । यहाँ धेरै कुरा परिवर्तन हुने आश्वासन दिइयो । त्यसको सुरुवात नेतृत्ववर्गले पनि गर्‍यो । सुरुवात गर्दा हेक्का भने राखिएन, हामीबाट समाज कसरी प्रशिक्षित हुँदै छ भनेर । एमाले र माओवादी केन्द्र एकीकरणपूर्व अहिलेका तपाईंकै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक मञ्चबाट तपाईंलाई नै तँ सम्बोधन गरेका उदाहरण छन् । माधव नेपाल प्रधानमन्त्री भइरहँदा कठपुतली सरकारको त्यो प्रधानमन्त्री भनी दिएको अभिव्यक्ति प्रविधिमा सुरक्षित नै छन् । दाहाल पहिलोपटक प्रधानमन्त्री भएर कटवाल प्रकरणपछि बहिर्गमनमा पर्दा २०६६ भदौ १६ गते विराटनगर पुगेर तत्कालीन राष्ट्रपति रामवरण यादवलाई त्यो भैंसी गोठालो भनेको पत्रकार र पत्रकारिताजगत्लाई स्मरण छ । पूर्वराजा ज्ञानेन्द्रलाई तिमीसम्म नभनेर अझै पनि तँ भन्ने गरेका थुप्रै उदाहरण छन् । भाषाशैली त पत्रकारले बिगारे होला, सभ्यता भने राजनीतिक नेतृत्वले नै बिगारेको हो ।

प्रधानमन्त्रीज्यू,

मिडियाले भाषाशैली बिगारेको भन्दा बिग्रिएको राजनीतिको चिन्ता गरिदिनुस् । तपाईंले भन्नुभए जस्तो थिति बिग्रेको देशमा तपाईंको चिन्ता नजायज भन्नुपर्छ भन्ने मेरो तर्क होइन । तर नेतृत्व सप्रिएको दिन देश आफैं सप्रिनेछ । प्रहरी, प्रशासन सप्रिनेछ । साथै व्यावसायिक पत्रकारिता,मिडिया पनि पक्कै केही हदसम्म आफैं सुध्रिनेछ । जसरी घरको मूली ज्ञानी र चरित्रवान् भइदिँदा घर–परिवारमा ज्ञान र बुद्धि सञ्चार हुन्छ । त्यसरी नै देशको मूली सभ्य भइदिए देशको सभ्यता आज नभए भोलि अझ सभ्य हुन कर लाग्नेछ ।

हालैमात्र नेपाल भ्रमण गर्नुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेतृत्वले सधंै अनुशासनमा ध्यान दिनुपर्छ भनेको कुरा बाहिर आएको छ । साथै जनताको मन जितेर शासन गर्नुपर्छ भन्ने भनाइ हाम्रा लागि सान्दर्भिक भएको छ । त्यसैले नेतृत्वले अनुशासन कायम गरिदिँदा देशको शासन– व्यवस्थामा समेत सभ्यता र सुशासनको अनुभूति हुन्छ भन्ने यथार्थलाई स्मरण गर्ने की ? सभ्यता र समाजको कुरा गर्दा एकपटक सबैले गान्धीको ‘माइ म्यासेज इज माई लाइफ’ भन्ने उक्ति मनन गर्ने कि ?

सञ्जय पन्थी 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung