नेपालस्थित अमेरिकी दूतावासले इन्डो प्यासिफिक रणनीति (आइपिसी) बारे सामाजिक सञ्जालमार्फत स्पष्ट पार्ने प्रयास गरेको छ । अमेरिकी राजदूत र्यान्डी बेरीले युएस एम्बेसी नेपाल आइडी रहेको फेसबुक पेजमार्फत सवा दुई मिनेटको भिडियो अपलोड गरेर आइपिसीबारे उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘पछिल्ला दिन निरन्तर चर्चा सुन्नुभएको छ । आइपिसी के हो, के होइन ? नेपालका लागि यो नीतिको के अर्थ छ भन्ने छोटकरीमा व्याख्या गर्न आवश्यक छ ।’ बेरीले एसिया प्रशान्त क्षेत्रको अमेरिकी सरकारी नीतिको नाम इन्डो प्यासिफिक रहेको र यसले अमेरिकी सरकारको अवधारणालाई स्पष्ट पार्ने जनाएका छन् ।
उक्त भिडियोमा भनिएको छ, ‘यो कुनै क्लब होइन । सम्मान र विधिको शासन होस् भन्ने आशयले अमेरिकी सरकारले यो नीति बनाएको हो ।’ यसबारे आपत्ति प्रकट गर्नुपर्ने कुनै कारण नभएको उनले जनाएका छन् । नेपालसँग ७० वर्ष लामो दैत्य सम्बन्ध रहेको स्पष्ट पार्दै नेपालका लागि मात्र आइपिसी नबनेको उनको भनाइ छ । ‘समग्र एसिया प्रशान्तक्षेत्रका लागि अमेरिकी सरकारले बनाएको सरकारी नीतिमा न कसैले हस्ताक्षर गर्नुपर्छ न त बहिष्कार गर्नुपर्ने अवस्था छ,’ उनले भनेका छन् ।
नेपालबाट ७० वर्ष लामो मित्रवत् सम्बन्धमा हजारौं नेपाली विभिन्न अवसरमा अमेरिका पुगेको स्मरण गरिएको छ । अहिलेसम्म पनि नेपाली अमेरिका जाने क्रम निरन्तर छ । त्यहाँ तालिम, अध्ययन, अनुसन्धानलगायत कार्यक्रममा जाने–आउने क्रम जारी छ ।
दूतावासकाे ट्रवीटमा “मुख्य कुरा यही हो: स्वतन्त्र, खुला, र मजबुत इन्डो-प्यासिफिक को समर्थन गर्नु कुनै पनि देशको पक्षमा वा विरुद्धमा होइन। यो सिद्धान्तहरूका पक्षमा हो, तिनै सिद्धान्त जसले चीनको उदय, भारतको उदय, बङ्गलादेशको उदय, र नेपालको उदयलाई पनि सम्भव बनाएको छ।” भन्ने सन्देशलाइ नेपालीमा स्पष्ट पारिएकाे छ ।
पछिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच रणनीतिक साझेदारीको सम्बन्ध स्थापित भएको र उक्त साझेदारीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै असर नपार्ने जिकिर गरिरहँदा राजनीतिक विश्लेषकले बिआरआई र अमेरिकी सरकारको आइपिसीसँगको दोहोरो सम्झौताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा आँच आउने टिप्पणी गर्दै आएका छन् ।

यही बेला अमेरिकी राजदूत बेरीले ती सबै भनाइ ओझेलमा पार्ने गरी यस्तो सन्देश प्रवाह गरेका छन् । उनले नेपालसँगको सम्बन्ध निरन्तर र मित्रवत् रहने स्पष्ट पारेका छन् । उक्त सन्देशसँगै अमेरिकाले ७० वर्षको अवधिमा कुनकुन क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको छ भन्ने तथ्यका साथै ऐतिहासिक महत्त्वका तस्बिरसमेत भिडियो फुटेजमा सार्वजनिक गरिएको छ ।
(तस्बीरः अमेरिकी दूतावासको फेसबुक पेजबाट)













































































































































































































