२६ भाद्र २०८३, शुक्रबार

 

बागलुङमा रमाउँदै अमेरिकी पर्यटक

अमेरिकी  पर्यटकहरूको टोली यति बेला बागलुङका विभिन्न पर्यटकीय क्षेत्र भ्रमण गरिरहेको छ । गत बुधबार बागलुङ आइपुगेका उनीहरू एक साता यहाँ बिताउँदै छन् ।

प्रायः सवारीको जाम हुने बागलुङ बजारको मुटु लोकतान्त्रिक चोकमा बुधबार दिउँसो २ बजे एकाएक जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको जाम लाग्यो । झन्डै दुई दर्जन पर्यटक आउने खबरले केही दिन पहिलेदेखि नै तयारी थालेका बागलुङेहरू उनीहरूको स्वागतमा जम्मा भएका थिए ।

 

३ जना नेपालीसहित २४ पर्यटकको टोली २ बजेर २० मिनेटमा चोकमा झर्‍यो । हातमा फूलमाला लिएर लामबद्ध बागलुङ नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री र जिल्ला प्रहरीप्रमुख नवराज भट्टलगायतले उनीहरूलाई स्वागत गरे । ‘भेगन’ समूहको यो टोली बागलुङ नगर घुम्न आउने विदेशी पर्यटकमध्ये अहिलेसम्मकै ठूलो हो ।

बागलुङ नगरपालिका–१० भकुन्डेमा रहेको अतिथिसत्कार सामुदायिक होमस्टे पुग्ने लक्ष्यसाथ आएका उनीहरूलाई नगरभित्रका अन्य पर्यटकीय क्षेत्रमा समेत घुम्न प्रेरित गरियो । तामझामसाथ तयारी गरिएको सत्कार–घरमा नपसी उनीहरूले मगर समाज गुठीको देउसीभैलो अवलोकन गरे ।

 

‘बागलुङ नगरमा यति धेरै विदेशी पर्यटक एकैपटक आएको तथ्यांक छैन,’ प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘अरू प्रयोजनका लागि धेरै आए तर पर्यटककै रूपमा आउने भेगन पहिलो समूह बनेको छ ।’ बागलुङ नगरका विभिन्न पर्यटकीय क्षेत्रका विषयमा जानकारी पाएका पर्यटक भकुन्डेको सामुदायिक घरबासमा रमाउन आउनु जिल्लाकै लागि सुखद भएको नगरप्रमुख पौडेलले बताए ।

 

भ्रमण तालिका उपलब्ध नगराए पनि उनीहरू झन्डै एक साता बागलुङमा रहने सुवेदीले जानकारी दिए । ‘हामीसँग घुम्ने ठाउँ धेरै छन्,’ उनले भने, ‘प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि यो राम्रो अवसर हो ।’ समूहले बुधबार साँझ बागलुङ कालिका मन्दिरमा झन्डै डेढ घण्टाको नियमित आरती अवलोकन गरेको थियो ।

 

‘हाम्रो आरती हेर्न विदेशी पर्यटक आउनु सकारात्मक कुरा हो,’ बागलुङ कालिका भगवती गुठीका अध्यक्ष तथा पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले भने । सरकारले घोषणा गरेको पर्यटनवर्ष २०२० सफल बनाउन पनि यस्तो भ्रमणले सघाउने खड्का बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung