काठमाडौं उपत्यकाका बासिन्दा केही दिनयता रातको समयमा केही कुरा पोलिएको चर्को गन्धले आजित भएको गुनासो गर्न थालेका छन् । यस्तो गन्ध एउटा टोलमा मात्र नभएर विभिन्न ठाउँमा अनुभव गरिएको छ ।
यस्ता गुनासा व्यक्तिव्यक्तिमा मात्र सीमित नभएर सामाजिक सञ्जाल फेसबुकसम्म आइपुगेका छन् ।
ललितपुरका एकान्तकुना, मंगलबजार, कुसुन्ती, च्यासल, पुल्चोक, कुमारीपाटी, सातदोबाटो, गाबहाल आदि ठाउँमा चर्को गन्ध महसुुस हुने गरेको स्थानीयको भनाइ छ । तर, केको गन्ध हो भन्ने अझै यकिन भइसकेको छैन ।
काठमाडौंमा पनि बानेश्वर, अनामनगर, धोबीखोला, तीनकुने, सुविधानगर आदि ठाउँमा यस्तो गन्ध फैलिने गरेको ‘रुटिङ अफ नेपाल बन्द’ले पनि लेखेको छ । रातो मच्छिन्द्रनाथ नामको फेसबुक पेजमा राति यस्तो गन्ध आएको चौथोपटक भएको लेखिएको छ ।
यता महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख दुर्गाराज रेग्मीले रातको समयमा त्यस्तो गन्ध नआएको बारे कुनै जानकारी नभएकाे बताए । ‘रातको समयमा प्रहरी गस्तीमै हुन्छन्, म पनि रातको १२ बजेसम्म बाहिरै हुन्छु । तर यस्तो खबर कतैबाट आएको छैन, यो फेसबुके हल्ला हो,’ उनले भने ।



















































































































































































































