बालाचतुर्दशी पर्वका अवसरमा आज साँझ दिवंगत पितृका नाममा दीप प्रज्वलन गरिँदै छ । राजधानीको पशुपति परिसरमा यसका लागि तयारी पूरा भइसकेको छ ।
यो पर्वमा त्रयोदशीको साँझ दीपदान गरेपछि जाग्राम बसेर भोलिपल्ट बिहान शतबीज छर्ने परम्परा छ । पशुपति क्षेत्र विकास कोषले शतबीज छर्न आउनेसँग कुनै शुल्क नलिई स्वैच्छिक दानलाई निरन्तरता दिइएको जनाएको छ ।
कोषका नामबाट केही व्यक्तिले भक्तजनसँग रकम उठाउने तयारी गरेको जानकारी पाएपछि कोषले यसबारे प्रस्ट पारेको हो ।
बत्ती बाल्न पशुपतिनाथ परिसरमा आइतबार दिउँसोदेखि नै भक्तजन ओइरिरहेका छन् । प्रत्येक वर्ष लाखौं मानिस दीपदान गर्न पुग्छन् । बत्ती बालेर रातभर बस्ने ठाउँ रोक्न भक्तजन पहिल्यै यहाँ जान्छन् ।
त्रयोदशीको साँझ दीपदान गरेपछि रातभर भजनकीर्तन गर्ने र चतुर्दशीको बिहान दिवंगत परिवार सदस्यको आत्माशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।
पशुपति क्षेत्रका १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किरातेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज छर्ने क्रममा मृगस्थलीस्थित बहिरा गणेशको शिला हल्लाउँदै चिच्याउँदा दिवंगत आत्माले सन्देश पाउने जनविश्वास छ । शतबीजमा धान, जौ, तिल, गहँु, मास, मकै, कागुनो मिसाइएको हुन्छ । तर नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम भन्छन्, ‘हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार सातथरी अन्नका गेडा चढाउनुपर्छ ।’
मृगस्थली क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने धार्मिक विश्वास छ ।



















































































































































































































