६ जेष्ठ २०८१, आईतवार

 

भुटानमाथि नेपालको जित, कप्तान ज्ञानेन्द्रले पुरा गरे शतक

कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी शतकसँगै नेपालले साग पुरुष क्रिकेटमा भुटानलाई १ सय ४१ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले २३७ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा भुटानले २० ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका पारस खड्काले २ विकेट लिँदा करण केसी, ललितनारायण राजवंशी र पवन शर्राफले एक-एक विकेट लिए ।

ज्ञानेन्द्रको शतक

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३६ रन बनाएको थियो । यो टी-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो ।

नेपालको सुरुवात राम्रो रहृयो । कप्तान मल्ल र पूर्वकप्तान पारस खड्काले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरे । पारस ५७ रनमा आउट भए । तेस्रो नम्बरमा आएका रोहितकुमार पौडेल मात्र ६ रनमा आउट भए ।

त्यसपछि कप्तान मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ८० रनको साझेदारी गरे । ५३ बलमा शतक पूरा गरेका कप्तान मल्ल थप दुई बल सामना गरेर १०७ रनमा आउट भए । ५५ बलको सामना गरेका उनले पाँच चौका र ९ छक्का हाने । अन्तर्राष्ट्रिय टी-२० मा यो उनको पहिलो शतक हो । साथै १०७ रन टी-२० मा नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर पनि हो ।

यसअघि नेपालका लागि एक मात्र टी-२० शतक पूर्वकप्तान पारसको नाममा छ । यस्तै एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली खेलाडीको सुचिमा ज्ञानेन्द्रले पारसको कीर्तिमानसँग बराबरी गरेका छन् । पारसले सिंगापुरविरुद्ध प्रहार गरेको ९ छक्काको किर्तिमान ज्ञानेन्द्रले भुटाविरुद्ध बराबरी गरेका हुन् ।

पारस र ज्ञानेन्द्र दुवै टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सर्वाधिक छक्का प्रहार गर्ने विश्वका १६ औं खेलाडीको स्थानमा रहन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्