६ जेष्ठ २०८१, आईतवार

 

जावलाखेललाई प्रभु बैंकको साथ

जावलाखेल युथ क्लबले अबको सहिद स्मारक लिग ‘ए’ डिभिजनमा प्रभु बैंक जावलाखेलको नामले खेल्ने भएको छ । क्लब र बैंकबीच आइतबार भएको २५ लाख रुपैयाँको सम्झौतापछि लामो इतिहास बोकेको ललितपुरको क्लबले नयाँ सुरुआत लिन लागेको हो । दुई पक्षबीचको सम्झौतामा क्लबका अध्यक्ष महेन्द्र क्षत्री र बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरे ।

सम्झौता एक वर्षको रहेको छ । पहिलोपल्ट नेपाली खेलकुदमा प्रायोजकका रूपमा प्रवेश गरेको प्रभु बैंकले लिगका लागि क्लबका खेलाडीको बिमा पनि गर्नेछ । शेरचनले लिगमा जावलाखेलले राम्रो खेले प्रभु बैंकले अझ विस्तारित अनुबन्ध गर्ने वाचा पनि दिए । अझ उनले क्लबसँग मिलेर एकेडेमी खोल्नेसम्म योजना भएको पनि बताए ।

जावलाखेका अध्यक्ष महेन्द्र क्षत्रीले सुपर सिक्समा पुग्ने लक्ष्य रहेको जनाए । त्यसका लागि क्लबले आउँदो सिजनमा १ करोडभन्दा बढीको बजेट बनाएको बताए । जावलाखेललाई त्यसै कार्यक्रममा स्पोर्टस वेयरका लागि लिनिङ र अफिसियल अस्पतालका लागि स्टार हस्पिटलसँग पनि सम्झौता गरेको छ । लिनिङका राजन महर्जनले क्लबलाई १२ देखि १५ लाख बराबरको खेल सामग्री प्रदान गर्न लागिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्