६ जेष्ठ २०८१, आईतवार

 

दर्शकशून्य रंगशाला, चर्चाविहीन लिग

१३औं दक्षिण एसियाली खेलकुद सकिएको पर्सिपल्टै अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिगका खेल सुरु गर्‍याे ।

साथै एन्फाले लिग तालिकाका आधा खेल दशरथ रंगशाला र आधा एन्फा कम्प्लेक्समा खेलाउने तय गर्‍याे । घरेलु फुटबलको सबैभन्दा प्रतिष्ठित लिग खेलाउँदा त्यसअनुसारको पूर्वतयारी गर्ने समय एन्फाले पाएन ।

हतारहतारमै लिग सुरु गर्दा धेरै कमजोरी देखिए । उद्घाटन खेल दशरथ रंगशालामा गर्ने तय हुँदाहुँदै त्यही दिन बिहान उक्त खेल एन्फा कम्प्लेक्समा गर्ने सूचना जारी भयाे ।

अहिले ए डिभिजन लिगमा तीन चरण (२१ खेल) का खेल सम्पन्न भइसक्दा खड्किएकाे मुख्य विषय भनेको दर्शकको उपस्थिति हो । बाँकी दस चरणमा पनि यही अवस्थाले निरन्तरता पाए दर्शकको उपस्थितिका आधारमा सर्वाधिक असफल लिग यही हुन्छ ।

दशरथ रंगशाला होस् वा एन्फा कम्प्लेक्स, दुवै मैदानमा दर्शकको उत्साहजनक उपस्थिति छैन । संख्या कम भएपछि एन्फाले गत मंगलबार पहिलोपटक दर्शक आकर्षित गर्ने विभिन्न प्याकेज सार्वजनिक गरेको थियो । प्याकेजले पनि दर्शकलाई मैदानसम्म तान्न सकेको छैन ।

शनिबार रुस्लान थ्रिस्टार क्लब र सशस्त्र प्रहरीको एपिएफबीच भिडन्त थियो । थ्रिस्टारले १–० ले जितेको त्यो खेलमा दर्शकसंख्या त्यसअघिका खेलमा भन्दा केही बढी देखियो । शनिबार झन्डै नौ सय दर्शक दशरथ रंगशाला पुगे । यो यसपालिको सबैभन्दा धेरै उपस्थिति हो ।

यसैबीच रातारात नेपाली फुटबलको आर्थिक स्तर उकास्न संघर्षरत एन्फाले यसपालिको लिगमा टिकटको मूल्य निकै चर्को राख्यो । साधारण प्यारापिटतर्फ २ सय र भिआइपी प्यारापिटतर्फ ५ सय मूल्य राखिएको टिकट किन्न कोही दर्शकले रुचि देखाएका छैनन् ।

अहिले रंगशालामा खेल हेर्न उपस्थित हुने अधिकांश दर्शक विभिन्न नामका गेटपास बोकेर पुग्ने गर्छन् । खेलाडीका आफन्त, साथीभाइ र पत्रकारको संख्या पनि धेरै छ ।

प्रतिक्रिया दिनुहोस्