१४ कार्तिक २०८३, शुक्रबार

 

हरिचौरका सबैघरमा शुद्ध खानेपानी

गलकोट नगरपालिका–५  हरिचाैरकी बेलकुमारी कालाको घरमा भाँडा सुकाउने चाङ बनेको छ । यो चाङमा सुकेपछि मात्र उनी भाँडा भित्र लैजान्छिन् ।
आमा, छोरी र बुहारी महिनाबारी हुँदा र अरू बेला पनि फलामे तारमा कपडा सुकाउने चलन छाडिसकेका छन् । प्लास्टिकको डोरी टाँगेर कपडा सुकाउँछन् । सफा शौचालय र स्नानघर छ । साबुनपानीले हात धुने व्यवस्था छ । गोठ सफा राख्छन् । पानी उमालेर मात्र पिउँछन् ।

घरभित्र पकाएको खाना छोपेर राख्ने काला बालबालिकालाई पनि त्यसै गर्न सिकाउँछिन् । काँचो फलफूल खाने बेलामा पनि सफा पानीले मात्र धुन्छिन् । गाईभैंसीलाई दिने खानापनि सफा राख्छिन् । भान्साकोठा सफा र धुवाँरहित छ । एक वर्षयता उनको घरमा २२ वटा सूचक फेरिएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका डम्बरकुमारी कँडेलले बताइन् । ‘गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउने अभियान थालेपछि हरेक घरमा यस्तै परिवर्तन आएको छ,’ उनले भनिन्, ‘बालबालिकादेखि बूढाबूढीसम्मले सरसफाइ अभियानमा साथ दिएका छन् ।’ विद्यालय र सार्वजनिक स्थानमा पनि सफा पिउने पानी र फोहोर व्यवस्थापनको काम थालिएको उनले बताइन् ।

उमेरले ७३ वर्ष पुगेकी मनकुमारी रानाको आनीबानी पनि फेरिएको छ । ९ वर्षदेखि स्वतन्त्र आमा समूहको अध्यक्ष भएर उनले घरघरमा धुवाँरहित चुलो निर्माणमा अगुवाइ गरिन् । वडा नागरिक मञ्चमा पनि सक्रिय थिइन् । ती दुई संस्थामा रहँदा उनले सुरक्षित शौचालय, साबुनपानीले हात धुनेजस्ता विषय सिकेको बताइन् । ‘अहिले हाम्रो वडामा बालबालिकालाई झाडापखाला लागेको थाहै छैन,’ रानाले भनिन्, ‘पहिला बिरामी भए भन्दै दिनदिनै अस्पताल धाउने समस्या अहिले हटेको छ ।’ उनले खानपानमा बेवास्ता गर्दा लाग्ने रोग मात्र बढेको बताइन् । छोराछोरी र नातिनातिनीसमेतले बूढाबूढीलाई पनि साबुनपानीले हात धुन सिकाएपछि बिर्सनै नसकेको रानाको अनुभव छ ।

अहिले यहाँका ६ सय ९५ वटै घरमा धारा जडान गरिएको छ । यहाँ शुद्ध पानी आउँछ । एक घर एक धारा अभियानमार्फत मिटर प्रविधिमा जाने योजना डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयले थालेको छ । सरसफाइ अभियानमा अगाडि बढेकाले यसअघि नै यहाँका सबै घरमा धारा बनिसकेको हो । ‘मिटरजडित धाराको प्रक्रियामा जानेसमेत तयारी छ,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘अभियान सफल पार्न अब सार्वजनिक शौचालय निर्माणमा ध्यान दिएका छौं ।’

हरिचौरस्थित पृथ्वी माविसहितका दर्जनभन्दा बढी विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था छ । युरो गार्डमार्फत खानेपानी व्यवस्थापन गरिएको शिक्षक बद्रीप्रसाद ढकालले बताए । ‘सानासाना बालबालिकाले पनि सरसफाइ, साबुनपानीले हात धुनेजस्ता व्यवहार देखाउन थालेका छन्,’ उनले भने, ‘बाटैमा शौच गर्ने अवस्थाबाट यो परिवर्तन भएको छ ।’ टोलटोलमा पनि अभियान चलाएपछि यो वडाका ६ सय ९५ घर पूर्ण सरसफाइयुक्त भएका छन् ।

‘सबै घरमा २२ प्रकारका सूचक पुगेको पहिलोपटकको अनुगमनबाट पत्ता लागिसकेको छ,’ वडाध्यक्ष नारायणध्वज मल्लले भने, ‘अब हामीले जिल्लाकै नमुना वडा घोषित हुने अवसर आएको छ ।’ वडा कार्यालयले चालु वर्षभित्रै बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट बनाउने तयारी गरेको उनले बताए । सरसफाइका लागि दैनिक फोहोर ओसार्ने साधन विदेशमा रहेका युवा तथा नगरपालिकालगायतको बजेटबाट खरिद गर्ने तयारीसमेत उनीहरूको छ । सरसफाइ अभियानका लागि प्राविधिक सहयोगमा सुआहारा कार्यक्रमले साथ दिएको छ । नियमित अनुगमनबाट पनि पूर्ण सफाइ भेटिएपछि जिल्लाकै नमुना वडा घोषणा गरिने मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung