गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिरले बाटाकाचौरका असल बुहारी, जेष्ठ नागरिक र सुत्केरीलाई सम्मान गरेको छ । समाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक संघ सस्थामा आवद्ध, पारिवारिक मेलमिलाप, परिवारका सदस्यको उचित रेखदेख, सफा घर परिवार, शैक्षिक योग्यता,अतिथि सत्कार, बालबालिका शिक्षा सबैमा सक्षम महिलालाई पालिकाले सम्मान गरेको हाे ।
गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले सम्मानित महिलालाई अझै इमान्दारी, सहनशील भै सामाजिक काम सँगै पारिवारिक कामलाई अगाडि बढाउन आग्रह गरिन् । सुत्केरी महिलालाई भने पौष्टिक आहार खाई तन्दुरुस्त हुन सुझाव गरिनन् । बुधबार वडा नम्बर ३ बाटाकाचौरका ९ असल बुहारीलाई सम्मान पत्र र एकएक वटा थर्मस प्रदान गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण खनालले बताए ।
बाटाकाचौर साविकका ९ वडाका प्रत्येक वडाबाट एक÷एक जना गरी असल बुहारीका रुपमा हिमादेवी न्यौपाने, पार्वती बोहोरा, हिरा खनाल, तिला थापा, आशा वि.क, मायादेवी घर्ति, खिमादेवी पौडेल, कुमारी पुन, केश कुमारी थाापालाई सम्मान गरिएको थियो ।
त्यस्तै पालिकाले सोही वडा भित्रका ७० वर्ष माथिका ६० जना जेष्ठ नागरिकलाई पनि उपहार सामाग्रीसँगै निशुल्क स्वास्थ्य परीक्षण र आयुर्वेदिक औषधि वितरण गरियो । नियमानुसार स्वास्थ्य चौकीमा ४,६,८,९ महिनामा गरी चार पटक गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा गई सुत्केरी हुने १० महिलालाई रातो भाले प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले जानकारी दिए ।



















































































































































































































