बरेङ गाउँपालिकाको आयोजनामा बरेङमा लोकसेवा तयारी कक्षा सञ्चालन भइरहेको छ ।
लक्षित कार्यक्रमअन्तर्गत महिला, दलित, जनजाति, अपाङ्गलगायत सबै समुदायलाई लाभ हुने गरी दिनमा दुईपटक बिहान ७ देखि ९ बजसेम्म र दिउँसो ३ बजे देखि ५ बजेसम्म कक्षा चलिरहेको पालिकाले जनाएको छ । कक्षामा प्रश्नोत्तरका आधारमा उत्कृष्ट हुने ५ विद्यार्थीलाई खरिदार पुस्तक दिएर सम्मानसमेत गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
यसअघि पालिकाले ४० जनालाई मात्र १५ दिनसम्म कक्षा सञ्चालन गर्ने र टाढाका विद्यार्थीलाई खानबस्न सुविधासहित निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने गरी पाँचै वडाबाट निवेदन मागेको थियो । कम निवेदन परेपछि सोही कार्यक्रमलाई नै सबै समेटिने गरी बरेङ बजारमा अवस्थित सर्वोदय क्याम्पसमा सञ्चालनमा ल्याइएको अधिकृत थापाको भनाइ छ ।
सूचनाअनुसार निवेदन नपरेपछि सर्वोदय क्याम्पसका विद्यार्थीलाई लक्ष्यित गरी निःशुल्क रूपमा सोही कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । अहिले करिब ८० जना विद्यार्थीलाई लोकसेवा कसरी तयारी गर्ने, कसरी पढेमा उत्तीर्ण हुन सकिन्छ भन्नेजस्ता विषय सहज ढंगले सिकाइएकोे पालिकाले जनाएको छ ।
अधिकृतहरू कृष्णप्रसाद सुवेदी, रमेश थापा, पहन अर्यालले कक्षाको सहजीकरण गरिरहेका छन् । गत मंगलबार सुरु भएको कक्षा माघ ७ सम्म चल्नेछ ।













































































































































































































