४ श्रावण २०८३, सोमबार

 

गायिका राउतलाई पक्रन पुर्जी

गायिका आस्था राउत अभद्र व्यवहारको कसुरमा पक्राउ पर्ने भएकी छन् । त्रिभुवन विमानस्थलमा जाँच गर्ने प्रहरीको व्यवहारलाई लिएर राउतले प्रश्न उठाएपछि प्रहरीले गरेको छानबिनका आधारमा जिल्ला प्रशासनले उनलाई पक्रन अनुमति दिएको हो ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले गत बुधबार सामाजिक सञ्जाल फेसबुकमा आक्रोशपूर्ण भिडियो पोस्ट गरेकी थिइन् ।

विमानस्थलमा कार्यरत महिला प्रहरीले आफूलाई अपमानपूर्वक ‘तँ’ भनेको जनाउँदै उनले भिडियोमा भनेकी छन्, ‘यो नेपाल प्रहरीको जरामै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’

पक्ष र विपक्षमा थुप्रै प्रतिक्रिया आएका उक्त भिडियोलाई लक्ष्यित गर्दै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई अनुसन्धान जिम्मा दिएको थियो । त्यस दिन विमानस्थलमा खटिएकी महिला प्रहरी रमिला श्रेष्ठले पनि राउतलाई कारबाही माग्दै जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung