१५ कार्तिक २०८३, शनिबार

 

गाउँपालिकाको कार्यालयमा आगजनी

बैतडीको डिलासैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

आगजनी कसले र किन गराएकाे भन्ने खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी गराए । गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ।

नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो। यसका साथै पंसेरामै रहेको पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से१च ४५९ नम्बरको जेसिबीमा समेत आगजनी गरिएको छ। घटनाबारे बुझ्न टोली त्यसतर्फ गइसकेकाे प्रहरीले जनाएकाे छ ।

डिलासैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो। नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप छ। डिलासैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ। संघीयतासँगै नयाँ संरचना बनेपछि गाउँपालिका–७ मा केन्द्र तोकिए पनि हाल सम्पूर्ण काम वडा नं ३ बाट हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung