मध्यपहाडी लोकमार्गअन्तर्गतका १० नमुना सहरमध्ये बागलुङको बुर्तिबाङमा अझै विद्युत्को केन्द्रीय प्रसारणलाइन जोडिएको छैन । स्थानीय अँध्यारोमै बस्न बाध्य छन् ।
गत वर्ष असार मसान्तमै प्रसारणलाइन जोडिने भनिएको थियो । २०७५ देखि रिघा, मनेवा हुँदै बुर्तिबाङ बजारसम्म तार टाँगिए पनि थप काम नहुँदा बिजुली आउन अझै केही महिना लाग्ने भएको हो । ४ मेगावाट विद्युत् बुर्तिबाङ बजारसम्म भित्र्याउने गरी काम थालिएको १ वर्ष बितिसकेको छ । अस्तव्यस्त रहेका पोल र तार व्यवस्थापनसँगै ट्रान्समिटर तथा उपभोक्ताको घरमा मिटर जडानको काम बाँकी छ ।
विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख एवं इन्जिनियर शिवनारायण गोसलीले फागुन मसान्तसम्म बिजुली ल्याउने गरी काम भइरहेको बताए । विद्युत् व्यवस्थापनका निम्ति मनेवादेखि बुर्तिबाङसम्म विभिन्न स्थानमा ६ वटा ट्रान्सफर्मर राख्न जयकाली भगवती कम्पनीले जिम्मा पाएको र ट्रान्सफर्मर जडानपछि मुख्य लाइनको पोल र तार व्यवस्थापन गरी सम्बन्धित उपभोक्तको घरमा मिटर जडान सुरु हुने गोसलीले जानकारी दिए ।
लोकमार्गमा पोल गाड्ने र तार टाँग्ने जिम्मा वाइबा कन्स्ट्रक्सनले पाएको छ । त्यस्तै बजारमा ९ मिटरका पोल गाड्ने र कालो तार टाँग्ने जिम्मा मञ्जुल कन्स्ट्रक्सनलाई दिइएको छ ।
हाल बजार क्षेत्रमा पोल गाडिसकेर तारसमेत टाँगिएको छ । ढोरपाटन नगरपालिकाको वडा नं.२ को सेरा, तारीखेत र कुत्थाप्लामा समेत पोल गाड्ने काम भइरहेको छ ।
अघिल्लो वर्ष नै रिघा, मनेवादेखि बुर्तिबाङसम्म तार टाँगिएकोमा विभिन्न स्थानमा पहिरोले चुँडिएको थियो । कतिपय स्थानमा पोल ढलेका छन् । बजार क्षेत्रमा तार टाँगिए पनि स्थानीय बत्ती कहिले बल्ने हो, अन्योलमा छन् । बजारमा दिनप्रतिदिन जनघनत्व बढिरहेको छ । स्थानीय जघुजलविद्युत्ले माग थेग्न नसक्दा सानातिना उद्योेग, ग्रिल सञ्चालनमा समेत कठिनाइ छ । तीन वर्षपहिले रिठाखोला लघुजलविद्युत् आयोजनाबाट बिजुली ल्याएपछि केही सहज भएको थियो ।
अहिले आरसिसी माइक्रोहाइड्रो विद्युत् उपयोग गरिरहेका स्थानीय प्रतियुनिट १५ रुपैयाँ तिरिरहेका छन् । प्रतिघर एक युनिट मात्रै उपभोग हुँदा पनि उनीहरू मासिक १ सय ५० रुपैयाँ तिर्न बाध्य छन् । केन्द्रीय विद्युत् आयोजना रिघा, मनेवा हुँदै बडीगाड गाउँपाकिलाको खर्वाङ, खाल, खार, भीमगिठे हुँदै बुर्तिबाङ बजार तथा आसपास क्षेत्रमा पु¥याइने प्रमुख गोसलीले बताए ।



















































































































































































































