अमेरिका गएर लुकेको भनिएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले आफू लुकेको नभई बिरामी भएको बताएकी छन् ।
फेसबुक स्ट्याटसमार्फत उनले बिरामी भएका कारण समयमा नेपाल फर्किन नसकेको बताएकी हुन् ।
सामाजिक सञ्जालमा उनले भनेकी छिन्, ‘म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीजीलाई जानकारी नदिएर आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’
उनले आफ्नो स्वास्थ्यबारे मेयरलाई जानकारी गराउन पटक–पटक सम्पर्क गरे पनि मेयरले फोन नउठाएको दाबी गरेकी छन् ।
‘अमेरिकाबाट बारबार मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालजीसँग पनि कुरो भएको हो, वडा अध्यक्षहरुसँग पनि कुरो भएको हो । कतैबाट केही प्रतिक्रिया आएन’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्
आफू अमेरिका जाँदा टिकटसमेत साथीभाइको सहयोगमा लिएर आएको र पूर्ण रूपमा निको हुन अझै ५ महिना लाग्छ भनेर चिकित्सकले भनेको पनि उनले बताएकी छन् ।
आफ्ना बारे सञ्चालमाध्यममा आएको समाचारप्रति आपत्ति जनाउँदै उनले भनेकी छिन्, ‘कृपया मलाई बाँच्न दिनुहोस्, म बाँचे त अरूको सेवा गर्न सक्छु । म नै राम्रो भइनँ भने दुनियाँकै शक्तिशाली भए पनि केही छैन मलाई । अब मेरो बारेमा के भन्न मन लाग्छ, लेख्न मन लाग्छ आफै भन्नुहोस्, के गर्ने हो गर्नुहोस् ।’
उनकाे स्ट्याटस



















































































































































































































